शनिवार , जेठ २३, २०८३
भैरहवा, २३ जेठ । रुपन्देही क्रिकेट संघ, रुपन्देहीको यही जेठ २५ गते हुने ३० औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन (निर्वाचन)मा हरि बहादुर थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
थापा संघको वर्तमान अध्यक्ष समेत हुनुहुन्छ । चार वर्षअघि उहाँले शक्ति गौचनलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
केही अधुरा कामहरु सम्पन्न गर्न एउटा कार्यकाल अझै आफूले सम्हाल्नुपर्ने संघका पदाधिकारी, सदस्य र क्रिकेटप्रेमीहरुबाट आवाज उठेकोले आफूले दोस्रो कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिन लागेको थापाले बताउनुभयो ।
‘रुपन्देही क्रिकेट संघले थुप्रै काम गरेको छ, उहाँले भन्नुभयो–‘खेलमैदानलाई व्यवस्थित गरेका छौं । त्यसका साथै महिला खेलाडीलार्ई निःशुल्क प्रशिक्षण, एकेडेमी सञ्चालनदेखि कार्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गरेका छौं ।’
अध्यक्ष पदका आकांक्षी शक्ति गौचनलाई कम्तीमा एक कार्यकाल अध्यक्ष भन्दा तलको पदमा रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो । निर्वाचनमा सहमतिको प्रयास भने जारी रहेको उहाँले बताउनुभयो ।
आगामी चारवर्षे कार्यकालमा सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय खेलमैदानको रुपमा विकसित गर्ने लक्ष्यका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो । थापाले रुपन्देहीलाई नेपाल क्रिकेट संघ (क्यान) ले ‘नम्बर वान’ जिल्ला घोषणा गरिसकेको उल्लेख गर्नुभयो । उहाँले अब राष्ट्रिय प्रतियोगिता मात्र नभई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सक्ने पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
