मंगलवार , जेठ २६, २०८३
भैरहवा, २६ जेठ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालय, रुपन्देहीको आयोजना तथा न्यू पक्लिहवा तेक्वान्दो डोजाङको व्यवस्थापनमा सम्पन्न प्रथम वडा आमन्त्रण नगरस्तरीय तेक्वान्दो प्रतियोगिताको न्यू पक्लिहवा तेक्वान्दो डोजाङ च्याम्पियन भएको छ ।
प्रतियोगितामा न्यू पक्लिहवा तेक्वान्दो दोजाङले ५ स्वर्ण, ४ रजत र ५ कास्य पदक जित्दै च्याम्पियन (प्रथम) भएको हो । त्यस्तै भैरहवा तेक्वान्दो क्लब ४ स्वर्ण, ३ रजत तथा २ कांस्य पदकसहित द्वितीय भएको छ । आर्य पब्लिक हाई स्कूल ३ स्वर्ण, ४ रजत र ६ कास्य पदक जित्दै तृतीय भएको भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले बताउनुभयो । रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालय तेक्वान्दो डोजाङ प्रतियोगिताको ‘अनुशासित टीम’ बन्न सफल भएको थियो ।
प्रतियोगितामा भैरहवा तेक्वान्दो क्लबकी आध्या हेला उत्कृष्ट महिला खेलाडी भइन् भने आर्य पब्लिक हाई स्कूलका सौरभ बज्र तामाङ उत्कृष्ट पुरुष खेलाडी भए ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्ज्वल पोखरेलले तेक्वान्दो जस्ता खेलकुद गतिविधिले बालबालिका तथा युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय तहबाट खेलकुदको विकास र प्रवद्र्धनमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदको माध्यमबाट नेपाललाई विश्वले चिनेको छ । उहाँले यस क्षेत्रमा धेरै खेलाडी उत्पादन हुन सफल भएको बताउनुभयो ।
प्रतियोगितामा पक्लिहवा माविका प्राचार्य बसन्त कुमार बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ, लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष राजीव सिंह क्षेत्री, रुपन्देही जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी बेलहियाका अध्यक्ष राकेश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा तेक्वान्दो क्षेत्र तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै यम कुमारी राना मगर र चेतकुमारी गुरुङलाई सम्मानसमेत गरिएको थियो ।
प्रतियोगितामा विभिन्न विद्यालय तथा तेक्वान्दो डोजाङका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । आयोजकका अनुसार प्रतियोगिताले स्थानीयस्तरमा तेक्वान्दो खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेल संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij