२०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

मर्चवारीमाईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई गाउँपालिकाद्वारा सम्मान

बुधवार , जेठ २७, २०८३

  • 415
    Shares
  • 415
    Shares
  • भैरहवा, २७ जेठ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । गाउँपालिकाभित्रका सामूदायिक विद्यालयबाट उत्कृष्ट जीपीए प्राप्त गर्ने तीन विद्यार्थी तथा एक उत्कृष्ट छात्रालाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले जानकारी दिनुभयो ।

    गाउँपालिकाभित्रका एसईई परीक्षामा सहभागी ६ वटा सामूदायिक विद्यालयमध्ये जनता माध्यमिक विद्यालयका विद्यार्थी धिरेन्द्र बरईले ३.७८ जीपीए प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै अमवा माध्यमिक विद्यालयका विद्यार्थी अमरेश यादवले ३.७५ जीपीए प्राप्त गरी द्वितीय तथा जनता माध्यमिक विद्यालयकै विद्यार्थी विजय कुमार यादवले ३.७० जीपीए प्राप्त गरी तृतीय स्थान हासिल गरेको शिक्षा शाखा प्रमुख बरईले बताउनुभयो ।

    उत्कृष्ट नतिजा ल्याउने तीनैजना विद्यार्थीलाई प्रमाणपत्र तथा एक–एक थान साइकल प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी छात्रातर्फ अमवा माध्यमिक विद्यालयकी अंशु कुमारी कुर्मीले ३.६६ जीपीए प्राप्त गरी गाउँपालिकाभित्रका छात्राहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेकी थिइन् । उनलाई पनि विशेष सम्मान गरिएको थियो ।

    सम्मान कार्यक्रममा उत्कृष्ट विद्यार्थीका अभिभावक तथा सम्बन्धित विद्यालयलाई समेत सम्मान गरिएको थियो । गाउँपालिकाले विद्यार्थीको मेहनत, अभिभावकको सहयोग र विद्यालयको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारीमाई गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसार अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘एउटै विद्यालयमा एउटै शिक्षकबाट पढेका केही विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् भने केही विद्यार्थी अपेक्षित नतिजा ल्याउन सकेका छैनन् । यस विषयमा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैले आत्मसमीक्षा गर्न आवश्यक छ ।’ अध्यक्ष बरईले सम्मान कार्यक्रमले उत्कृष्ट विद्यार्थीलाई थप प्रोत्साहन मिल्नुका साथै अन्य विद्यार्थीलाई पनि मेहनत गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    llllllllll.JPG

    कार्यक्रममा गाउँपालिकाभित्र प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मर्चवारीमाई गाउँपालिका–७ निवासी समाजसेवी बिनोदकुमार बरईले व्यक्तिगत रूपमा जनही ५ हजार रुपैयाँ नगद प्रदान गरी सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी, वडा नम्बर २ का वडाध्यक्ष शशिदयाल चौधरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।