बुधवार , बैशाख २९, २०७८
भैरहवा, २९ वैशाख ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’ ले कोरोना संक्रमित परिवारलाई निःशुल्क हरियो तरकारी वितरण गर्ने घोषणा गरेका छन् । उनले गाउँपालिकाभित्रका संक्रमित परिवारलाई ताजा तरकारीको लागि सम्पर्क गर्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा केवटले लेखेका छन, ‘मेरो मिहिनेत, मेरो लगानीबाट मेरो जनतालाई स्वस्थ बनाउनु मेरो जिम्मेवारी हो, सेवा गर्ने मौका अवश्य दिनुहोला ।’
उनले १५ कठ्ठामा तरकारी खेती गरेका छन् । उनले करेला, भिन्डी, बोडी, घिरौला, कांक्रो, लौका लगायत हरियो तरकारी खेती गरेका छन् । अहिले कोरोना भाइरस संक्रमणले मानव माथि संकट आएको छ, ‘यस्तो बेला केही भए पनि जनताको सेवामा लागौं भन्ने उद्देश्य हो, खबरपात्रोसंग उनले भने । 
तरकारी लिन आउन सक्नेले खेतबाट लिएर जान सक्ने र आउन नसक्ने परिवारले आफूलाई फोन सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।
पौष्टिक आहार वितरण
यसैबीच ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’ ले गाउँपालिकाका कोरोना संक्रमितलाई पौष्टिक आहार तथा अण्डा वितरण गरेका छन् ।
उनले गाउँपालिकाका प्रत्येक संक्रमितको घरमा पुगेर पौष्टिक आहार वितरण गर्दै स्वास्थ्यबारे जानकारी लिएको बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij