
बिहिवार , बैशाख ३०, २०७८
बुटवल, ३० वैशाख ।
कोभिड–१९ को कारण पत्रपत्रिका वितरण तथा समाचार संकलन, प्रकाशनमा असर परेको भन्दै रुपन्देहीका पत्रपत्रिकाहरु केही दिनका लागि प्रकाशन स्थगित हुने भएको छ । प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कोभिडको विषम परिस्थितिमा पनि पत्रपत्रपत्रिका प्रकाशन हुदै आएकोमा निषेधाज्ञाबाट आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिनप्रतिदिन चुनौती थपिदै गएको भन्दै पत्रपत्रिका केही दिनका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
विज्ञप्तीमा भनिएको छ- ‘प्रकाशन तथा प्रसारण समाज नचाहँदा नचाहँदै पनि मिति २०७८ जेठ १ गतेदेखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सूचना दिन बाध्य भएको छ ।’
कोभिड–१९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिवद्धता समेत प्रकाशन प्रसारण समाज रुपन्देहीले जाहेर गरेको छ ।
प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमहरुले भने कोभिड–१९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरी सुरक्षित रही प्रसारण गर्न सकिने अनुरोध समेत विज्ञप्तीमा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij