२०८३, आषाढ २ गते

Jun 16 2026 | २०८३, आषाढ २ गते

भैरहवामै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा, बीमा बोर्डकै शुल्कमा

मंगलवार , आषाढ २, २०८३

  • 403
    Shares
  • 403
    Shares
  • भैरहवा, २ असार । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीले आगामी असार ७ गतेदेखि बीमा कार्ड होल्डरहरूका लागि विशेष सहुलियत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको शुल्क दरमै विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराउने जनाएको छ ।

    अत्याधुनिक उपकरण तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको टोलीबाट सञ्चालित अस्पतालले न्यूरो सर्जरी, ट्रोमा, क्याथ ल्याब, डायलाइसिस, आईसीयू, सीसीयू, स्पाइन सर्जरी लगायत जटिल तथा विशिष्टीकृत स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ ।

    हाल विभिन्न अस्पतालहरूमा बीमा सम्बन्धी सेवामा देखिएको असहज अवस्था, लामो प्रतीक्षा समय तथा शल्यक्रियाका लागि महिनौसम्म कुर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अस्पतालले यो सेवा सुरु गर्न लागेको जनाएको छ । अस्पतालका अनुसार बीमा कार्ड लिएर आउने बिरामीलाई आवश्यक शल्यक्रिया २४ देखि ४८ घण्टाभित्र उपलब्ध गराइनेछ ।

    यस योजनाअन्तर्गत ओपीडी सेवा ५० रुपैयाँ, बेड शुल्क २०० रुपैयाँ तथा पित्तथैलीको पत्थरी, एपेन्डिसाइटिस, मिर्गौलाको पत्थरी, हर्निया, पाइल्स, ढाड तथा अन्य विभिन्न शल्यक्रियाहरू बीमा बोर्डले निर्धारण गरेको शुल्कदरमै अत्यन्त सहुलियत शुल्कमा उपलब्ध हुनेछन् ।

    सेवालाई थप व्यवस्थित बनाउन छुट्टै काउण्टर, समर्पित कोर्डिनेटर तथा डिजिटल बिलिङ प्रणालीको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यस कार्यक्रमबाट बीमित बिरामीहरूले गुणस्तरीय, छिटोछरितो र सहज स्वास्थ्य सेवा कम शुल्कमा प्राप्त गर्नेछन् ।

    बीमा सेवा भएका धेरै अस्पतालहरूमा शल्यक्रियाका लागि दुई–तीन महिनासम्म कुर्नुपर्ने अवस्था छ । छिटो सेवा लिन ई.एच.एस. अन्तर्गत जान सकिए पनि त्यसको शुल्क निजी अस्पतालसरह महंगो हुने भएकाले बिरामीमाथि ठूलो आर्थिक भार पर्छ । यस्तो अवस्थामा सिद्धार्थनगर सिटी हस्पिटलको यो कार्यक्रम अत्यन्तै उपयोगी हुनेछ, किनभने बिरामीहरूले बीमा बोर्डले तोकेको शुल्कदरमै सुलभ र सहज रूपमा शल्यक्रिया सेवा प्राप्त गर्न सक्नेछन् ।

    यसअघि वैशाख १६ बाट सञ्चालनमा आएको सुलभ कार्यक्रमले बिरामीहरूलाई अत्यधिक लाभ पुर्याएको छ । ओपीडी सेवा २०० रुपैयाँ, आईसीयू सेवा २ हजार २ सय रुपैयाँ जस्ता कम शुल्कमा सेवा उपलब्ध हुँदै आएको छ, जसले गर्दा बिरामीहरू दिनहुँ आकर्षित गएको अस्पतालले जनाएको छ ।

    सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।