२०८३, आषाढ २ गते

Jun 16 2026 | २०८३, आषाढ २ गते

बुटवलको पहिलो प्राथमिकता शैक्षिक र भौतिक विकास : उपमहानगर प्रमुख पाण्डेय

मंगलवार , आषाढ २, २०८३

  • 472
    Shares
  • 472
    Shares
  • बुटवल, २ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शैक्षिक क्षेत्रको विकास उपमहानगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । विकासका लागि सूचना तथा संचार अभियानद्वारा सञ्चालित लुम्बिनी सामुदायिक टेलिभिजनले आयोजना गरेको नगरप्रमुखसँग बालबालिका कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले नगरभित्रका सबै बिद्यालयहरुको शैक्षिक तथा भौतिक विकासका लागि उपमहानगरपालिकाको निरन्तर सहयोग रहने बताउनुभयो ।

    बुटवल वडा नम्बर १६ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालय र बुटवल–१० रामनगरस्थित बुटवल कालिका क्याम्पसमा छुट्टाछुट्टै आयोजना गरिएको नगरप्रमुखसँग बालबालिका कार्यक्रममा सहभागी विद्यार्थीहरुले राखेका विभिन्न जिज्ञासाको जवाफ दिंदै नगरप्रमुख पाण्डेले सामूदायिक विद्यालयका समस्या, चुनौती र आवश्यक्तालाई सम्बोधन गर्ने प्रयत्न गरिएको बताउनुभयो ।

    उहाँले कतिपय सामूदायिक विद्यालयहरुलाई आधारभूत तहबाटै सुधारका लागि प्रयास गर्नुपर्ने आवश्यकता औंल्याउदै त्यसको लागि स्थानीय समुदायको सहकार्य महत्वपूर्ण रहने बताउनुभयो । विद्यालय सुधारका लागि पहिलो आवश्यक भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै नगरप्रमुख पाण्डेयले सोहीअनुरुप सबै विद्यालयका भवनहरुको स्तरोन्नतिका लागि काम भइरहेको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर, सिकाई अभ्यास र विकासमा सामूदायिक र संस्थागत विद्यालयहरुबीच साझा रणनीति र सहकार्य गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरुले सामूदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध नभएको, विद्यालयमा कम गुणस्तरको स्यानिटरी प्याड उपलब्ध गराउने गरिएको, निजी र सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरमा भिन्नता रहेको, विद्यालयहरुले हरेक वर्ष भर्नाको नाममा विद्यार्थीहरुबाट शुल्क उठाउने गरेको लगायतका गुनासा राखेका थिए। 

    707796685_27826223403645919_1682531981293017925_n.jpg

    कार्यक्रममा बालअधिकारकर्मी सुमित्रा शर्माले रुपन्देही जिल्ला शैक्षिक विकासमा अग्रणी स्थानमा रहेको र बुटवलले त्यसको अगुवाइ गरिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको लगानी, नीति निर्माण सुधार लगायतका विषयमा यसप्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विद्यालय र विद्यार्थीहरुका समस्या पहिचान गरी सोही अनुसारको बजेट बनाउन यसप्रकारका कार्यक्रमले सघाउ पुग्ने बताउनुभयो ।

    शिक्षाविद् एवं बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले विद्यालयको विकास र शैक्षिक सुधारका लागि तिनै तहका सरकारको साझा चासो र चिन्ता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षक, अभिभावक र बिद्यार्थीहरुको मनोविज्ञान अनुसार नीति निर्माण गरी त्यसको कार्यान्वयन हुनुपर्ने भन्दै समयअनुकुल पाठ्यक्रम परिमार्जन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । परिवर्तित समयको माग अनुसारको परिणाममुखी, जीवनमुखी र व्यवहारिक सीपमूलक शिक्षाको खाँचो औंल्याउँदै उहाँले अध्ययन गर्दागर्दै विदेश जाने प्रवृति रोक्न पढ्दै सिक्दै काम गर्दै कमाउदै गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

    708376986_27826220610312865_4822924113317935360_n.jpg
    \

    लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलमको अध्यक्षता, स्टेशन प्रमुख हरिष ढकालको सञ्चालन तथा समाचार प्रमुख भगवती पाण्डेको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा टेलिभिजनका महासचिव दिनेश पाण्डे, सचिव जीवन अधिकारी, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना लगायतले कार्यक्रमको उद्देश्य तथा विद्यालय शिक्षामा उपमहानगरपालिकाको भूमिका, शिक्षा नीति, कार्यक्रम, बजेट लगायतका विषयमा भनाइ राख्नुभएको थियो ।

    दुई स्थानमा अलगअलग सञ्चालन भएको उक्त कार्यक्रममा विभिन्न १५ वटा विद्यालयका करिब ३ सय विद्यार्थी, शिक्षक र अभिभावकहरुको सहभागीता थियो ।