२०८३, आषाढ ४ गते

Jun 18 2026 | २०८३, आषाढ ४ गते

वडा सदस्य के.सी.द्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

बुधवार , आषाढ ३, २०८३

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ३ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल कुमार के.सी.ले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुभएको छ । सिद्धार्थनगर–६ पिपरहियास्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयबाट २०८२ सालको एसईईमा उत्तीर्ण (ग्रेडेड भएका) विद्यार्थीहरुलाई उहाँले सम्मान गर्नुभएको हो ।

    मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई नगद, स्कूल ब्याग (झोला) र शैक्षिक सामग्री प्रदान गरी उहाँले विद्यार्थीहरुलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने विद्यार्थीमा अमृत यादव, विष्णु बहादुर मल्ल, आकाश बढई, रोशनी मल्लाह, ताजिमा निशा र दीपक बढई रहेका छन् ।

    कार्यक्रममा बोल्दै वडा सदस्य के.सी.ले आफूलाई विद्यालयले विद्यार्थीहरुलाई सम्मान गर्ने अवसर प्रदान गरेको भन्दै विद्यालयप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना गर्दै राम्रो काम गरेर समाज र राष्ट्रको लागि योगदान गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    ssssssss.jpg

    त्यस्तै विद्यालयका प्रधानाध्यापक प्रवीण श्रीवास्तवले वडा सदस्य के.सी.लाई धन्यवाद दिदै यसले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले अहिलेको युग प्रतिष्पर्धाको युग भएको उल्लेख गर्नुभयो ।

    विद्यालय व्यवस्थापन समितिका निवर्तमान सदस्य मनि कुमार चौधरीले समयलाई चिन्नुपर्नेमा जोड दिनुभयो ।
    विद्यालयका पूर्व प्रअ ओमप्रकाश त्रिपाठीले वडा सदस्य अनिल कुमार के.सी.को यो कार्यक्रमले विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले व्यक्तिगत लगानीमा समयसमयमा के.सी.ले शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउनुभएको बताउनुभयो ।

    विद्यालयका पूर्व शिक्षक सदरे आलमले मिहिनेतले सफल भइन्छ भन्ने उहाहरण विद्यार्थीहरुले प्रस्तुत गरेको बताउनुभयो ।

    विद्यालयका प्रधानाध्यापक प्रवीण श्रीवास्तवको अध्यक्षता, वडा सदस्य अनिल कुमार के.सी.को प्रमुख आतिथ्यता, विद्यालयका पूर्व प्रअ ओमप्रकाश त्रिपाठीको स्वागत तथा शिक्षक रोहित गुप्ताको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक–अभिभावक संघका पूर्वअध्यक्ष शेर अली, स्थानीय युवा व्यवसायी धिरज अग्रहरीलगायतको उपस्थिति थियो ।