मंगलवार , आषाढ ९, २०८३
भैरहवा, ९ असार । रुपन्देहीको कोटहीमाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार गाउँपालिका खोप समन्वय समितिको आयोजनामा एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो ।
कार्यक्रममा खोप समन्वय समितिका जिल्ला संयोजक तथा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईले स्वास्थ्य क्षेत्रलाई स्थानीय तहले अझ बढी प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँका अनुसार रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेका छन् । चपाईले मर्चवार क्षेत्रका तीनवटै स्थानीय तहले खोप तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको मनोबल उच्च बनाउन छिमेकी स्थानीय तहहरूले सञ्चालन गरेका प्रोत्साहन कार्यक्रमबाट सिक्न उहाँले सुझाव दिनुभयो । साथै लुम्बिनी प्रदेशका केही स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासको उदाहरण प्रस्तुत गर्दै कोटहीमाईले पनि नमूना कार्य गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आगामी वर्षदेखि थप आकर्षक प्रोत्साहन उपलब्ध गराइने जानकारी दिनुभयो । स्वास्थ्य सेवाको पहुँच विस्तार तथा समुदायमा देखिएका स्वास्थ्यसम्बन्धी समस्याको समाधानका लागि स्वयंसेविकाहरूले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो ।
पूर्ण खोप सुनिश्चितता घोषणा पूर्व खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वयंसेविका तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष त्रिपाठीले आगामी दिनमा पनि पूर्ण खोपको दिगोपना कायम राख्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जितेन्द्र यादवले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार गाउँपालिकाका ७ वडामा सञ्चालित २१ वटा खोप केन्द्रमार्फत ३ हजार ७ सय ५२ जना बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । त्यस्तै गाउँपालिका अन्तर्गत रहेका ७ वटा स्वास्थ्य संस्थाबाट चालु आर्थिक वर्षमा ८ हजार ३ सय ८ जना पुरुष र १० हजार ८ सय ५९ जना महिला गरी १९ हजार १ सय ६७ जनाले बहिरंग (ओपीडी) सेवा लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुशीला कुमारी यादव, समाजसेवी गुरुवचन यादव, सक्रौन–पकडी स्वास्थ्य चौकीका इन्चार्ज घनलाल अर्याल, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कमलावती देवी कहारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मनबहादुर कुँवरले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij