२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

साईबर अपराधसम्बन्धी अभिमुखीकरण

बिहिवार , आषाढ ११, २०८३

  • 25
    Shares
  • 25
    Shares
  • तिलोत्तमा, ११ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, बेवरीमा अवस्थित श्री नमुना ईङ्गलिस बोर्डिङ्ग स्कूलमा एकदिने साईबर अपराध सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका सहभागीता रहेको थियो ।

    कार्यक्रममा ईलाका प्रहरी कार्यालय, मंगलापुर प्रशिक्षण सहयोगीका रुपमा रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुम बहादुर बयम्बूको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख (प्रहरी निरीक्षक) ज्ञानेन्द्र चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक चन्दले विद्यार्थीहरुलाई साईबर अपराधका बारेमा जानकारी गराउनुभएको थियो । प्रशिक्षण दिदै उहाँले साईबर अपराध के हो ? कस्तो कस्तो अवस्थामा यो अपराध हुन्छ ? यसबाट हुने हानी नोक्सानी, कानूनी उल्झन, विद्युतीय अपराध ऐन, अपराध भइ हालेमा हुने सजाय, दण्ड जरिवाना, साईबर अपराधीले कुन उमेर समूहलाई कसरी सो अपराधमा संलग्न गराउँछन्, के के कुराहरुमा सचेत हुनुपर्ने जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो । 

    WhatsApp Image 2026-06-25 at 9.43.35 PM.jpeg

    विद्युतीय उपकरण जस्तो मोबाईल, कम्प्यूटर जस्ता साधनहरु सही तरिकाबाट उपयोग गर्न तथा उक्साहट र लहलहैमा लागेर कुनै पनि किसिमका अवान्छित क्रियाकलापहरुमा सहभागी नहुन समेत उहाँले सुझाव दिनुभयो । उहाँले साईबर अपराधीले के कस्ता जालहरु बिछाउँछन् र आफू त्यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारी समेत विद्यार्थीहरुलाई गराउनुभएको थियो । त्यस्ता खालका कुनै गलत गतिविधिहरु भएको वा हुने थाहा पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न समेत उहाँले सुझाउनुभयो । कार्यक्रमका अध्यक्ष कुम बहादुर बयम्बुले साईबर अपराध जस्तो महत्वपूर्ण विषयमा विद्यालयमा आई विद्यार्थीहरुलाई प्रशिक्षण दिएकोमा ईलाका प्रहरी कार्यालय मंगलापुरलाई धन्यवाद दिनुभयो । उहाँले विद्यार्थीहरुलाई यस्ता खालका अपराधमा कुनै पनि हालतमा नफस्न सुझाव दिनुभयो । उहाँले आगामी दिनमा पनि प्रहरीसँग समन्वय गरी अन्य सामाजिक अपराध, लागूऔषध दुव्र्यसन जस्तो विषयमा पनि प्रशिक्षणको व्यवस्था मिलाइदिन कार्यालयलाई अनुरोध समेत गर्नुभयो ।

     

    कार्यक्रममा विद्यालयका वरिष्ठ उपाध्यक्ष लिला बहादुर कामु, प्राचार्य कमल कोइराला, सह–प्राचार्य गौतम चौधरी, मावि तह संयोजक नारायणी काफ्ले, नि.मा.वि. संयोजक साधना जि.सी., शिक्षक–शिक्षिकाहरु, प्रहरी लगायतको सहभागीता थियो । विद्यालयका शिक्षक नारायण प्रसाद कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।