आइतवार , आषाढ १४, २०८३
बुटवल, १४ असार । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चापलाई व्यवस्थित गर्न र गम्भीर प्रकृतिका बिरामीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन ‘ट्रयाज प्रणाली’ लागू गरिएको छ । अस्पतालमा दैनिक आउने सेवाग्राहीको संख्या अत्यधिक बढेपछि आकस्मिक कक्षमा यो वैज्ञानिक पद्दति सुरु गरिएको हो ।
अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. विष्णु प्रसाद गौतमका अनुसार हाल यस अस्पतालमा दैनिक २ हजारदेखि २५ सय सम्म सेवाग्राही उपचार तथा परामर्शका लागि आउने गरेका छन् । सीमित स्रोतसाधन र जनशक्तिकाबीच यति ठूलो संख्यामा आउने बिरामीहरूमध्ये कसलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने भन्ने चुनौतीलाई चिर्न अस्पतालले ट्रयाज प्रणालीलाई प्रभावकारी रूपमा अघि बढाएको डा. गौतमले जानकारी दिनुभयो ।
सरकारको स्वास्थ्य बीमा नीतिमा गरेको परिवर्तनले गर्दा पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप थप बढेको छ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी स्वास्थ्य संस्थाहरूमा बन्द गरेपछि बीमा सुविधा लिइरहेका सर्वसाधारणहरू उपचारका लागि सरकारी अस्पतालमै निर्भर हुन पुगेका छन् । निजी क्षेत्रबाट रिफर भएर र सिधै बीमाको सेवा लिन आउने बिरामीहरूको संख्या थपिएपछि प्रादेशिक अस्पतालमा भीड झनै बढेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. गौतमले दिनुभएको जानकारी अनुसार अस्पताल पुग्नेबित्तिकै सुरुमा बिरामी पहिले आएको आधारमा नभइ उसको स्वास्थ्य अवस्था कति गम्भीर छ भन्ने कुरा वैज्ञानिक तवरले जाँचिन्छ । यस प्रणाली अन्तर्गत अत्यधिक गम्भीर बिरामीलाई रेड जोन (रातो कोड) मा राखेर तत्काल आकस्मिक कक्षमा उपचार गरिन्छ ।
त्यस्तै मध्यम र गम्भीर अवस्थाका बिरामीलाई एलो जोन (सुन्तला वा पहेलो कोड) मा राखिन्छ भने सामान्य ज्वरो, हल्का चोटपटक लागेका बिरामी जसलाई केही समय पर्खाउँदा पनि ज्यानको जोखिम हुँदैन । उनीहरूलाई ग्रीन जोन (हरियो कोड) मा वर्गीकरण गरिन्छ । यो प्रणालीले गर्दा अस्पतालमा बिरामीको चाप व्यवस्थापन तथा गम्भीर अवस्थाका बिरामीले पाउनुपर्ने आकस्मिक सेवा समयमै पाउने र कसैले पनि पालो पर्खिएकै कारण ज्यान गुमाउनु नपर्ने सुनिश्चितता अस्पतालले गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवालाई थप प्रभावकारी र गुनासोरहित बनाउनका प्राप्त जनशक्ति, साधन स्रोधनको अधिकतम प्रयोग गरी आवश्यक सबै उपाय अपनाइएको बताउनुभयो । प्राप्त साधनस्रोधतको उपलब्धता र सेवाग्राहीको चाप र अपेक्षाबीच गहिरो खाडल रहेको बताउँदै उहाँले यस व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएको उल्लेख समेत गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij