२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

रामग्राम नगरपालिका प्रमुख गुप्ताले चढ्ने गाडीले कोरोना संक्रमित बोक्दै

शुक्रवार , बैशाख ३१, २०७८

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • नवलपरासी, ३१ वैशाख । 
    पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका जनप्रतिनिधि बोक्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीले आजबाट कोभिड १९ संक्रमित बिरामी बोक्न थालेको छ  । नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले प्रयोग गर्दै आएको उक्त गाडीलाई एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि गाडीले कोभिड–१९ बाट संक्रमित भएका नगरभित्र रहेका बिरामी बोक्न थालेको हो  । 

    कोभिड–१९ को असहज परिस्थितिलाई मध्यनजर गर्दै आफुले चढ्ने गाडी कोभिड संक्रमितको उपचारमा सघाउ पुर्याउने उद्देश्यले एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले जानकारी दिए । 

    नगरप्रमुख गुप्ताले आफूले चड्ने गाडीमा नगरभित्रका कोभिड–१९ बाट संक्रमितलाई आवश्यकता अनुसार आइसोलेशन सेन्टर तथा अन्य स्वास्थ्य संस्थामा लैजानका लागि प्रयोग गर्न मिल्ने गरी एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरेपछि उक्त कार्यको चौतर्फी प्रशंसा भएको छ । कोभिड–१९ को संक्रमण न्युनीकरण तथा रोकथामका लागि  नगरपालिकाले भुमिका निर्वाह गर्दै आइरहेको नगर उपप्रमुख रम्भा कुंवरले बताइन् ।

    उक्त सवारीले नगरभित्रका संक्रमितलाई घरबाट आइसोलेशन सेन्टर तथा अन्य स्वास्थ्य संस्थामा लैजाने कार्यमा प्रयोग गरिने गरी व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए । 

    गुप्ताले आफु चढ्ने सरकारी गाडीलाई  एम्बुलेन्स सेवाको रुपमा सञ्चालन गरे जस्तै देशका सबै स्थानीय तहका जनप्रतिनिधिहरुले चढ्ने सरकारी सवारीसाधनलाई कोभिड–१९ का बिरामीको उपचार गर्न सघाउ पुर्याउने कार्यमा प्रयोग गर्न सकियो भने पक्कै पनि बिरामीलाई समयमै स्वास्थ्य संस्था पुग्न मद्दत पुग्ने निश्चित छ   । 

    नगरपालिकाले यस अगावै रामग्राम नगरपालीका वडा नम्बर ४ जितपुरस्थित पाल्ही बहुमुखी क्यापसको भवनमा अक्सिजनसहितको २० शैयाको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् ।   
    त्यसै गरी रामग्राम नगरपालिकाले कोभिड–१९ संक्रमित भइ होम आइसोलेशनमा बसेका संक्रमितहरुको घरघरमा पुगेर औषधी  वितरण गर्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीमार्फत घरमै गइ परामर्श दिदै आइरहेको  छ ।