आइतवार , आषाढ २१, २०८३
बुटवल, २१ असार । विद्यालय शिक्षामा स्थानीय ज्ञान, इतिहास, संस्कृति र पहिचानलाई समेट्ने उद्देश्यले देशभर स्थानीय तहले आफ्ना स्थानीय पाठ्यक्रम कार्यान्वयनलाई तीव्रता दिइरहेका छन् । यतिबेला रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ‘हाम्रो बुटवल’ पुस्तक उपमहानगरभित्रका सबै सामूदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई निःशुल्क वितरण गरी अग्रसरता देखाएको हो । यसअघि पुस्तक नपाएको गुनासो गर्दै आएका विद्यालयहरुले प्रसन्नता व्यक्त गरेका छन् ।
यसवर्ष उपमहानगरपालिकाले सरकारी र निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई २४ हजारभन्दा बढी थान पुस्तक वितरण गर्ने जनाएको छ । यसअघि सामूदायिक विद्यालयमा मात्रै उपलब्ध गराइँदै आएको पुस्तक यसपटकदेखि निजी तथा संस्थागत विद्यालयका विद्यार्थीलाई समेत निःशुल्क उपलब्ध गराइएको हो । यस निर्णयले स्थानीय पाठ्यक्रमको पहुँच विस्तार गर्दै नगरभित्र अध्ययनरत सबै विद्यार्थीलाई आफ्नै भूगोल, इतिहास, संस्कृति, सम्पदा र सामाजिक परिवेशसँग जोड्ने अपेक्षा गरिएको छ ।
एक कार्यक्रमकाबीच उपमहानगर प्रमुख खेलराज पाण्डेयले विभिन्न विद्यालयका प्रधानाध्यापकलाई पुस्तक हस्तान्तरण गर्दै वितरण कार्यको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई आफ्नो कार्यकालको प्राथमिकता बनाउँदै पूर्वाधार, शैक्षिक कार्यक्रम तथा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा उल्लेख्य लगानी गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय पाठ्यक्रमले विद्यार्थीमा आफ्नै समुदायप्रतिको अपनत्व, जिम्मेवारी र स्थानीय पहिचानप्रतिको गर्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
नेपालको विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमसँगै स्थानीय तहले आफ्नो भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा सामाजिक विशेषतालाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरिएको छ । यसको उद्देश्य विद्यार्थीलाई आफ्नो समुदाय, स्थानीय स्रोत–साधन, संस्कृति, वातावरण र सम्भावनाबारे व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै स्थानीय आवश्यकतासँग जोडिएको शिक्षाको विकास गर्नु हो । शिक्षा विज्ञहरूका अनुसार स्थानीय पाठ्यक्रमले विद्यार्थीमा स्थानीय पहिचान संरक्षण, नागरिक चेतना अभिवृद्धि तथा समुदायसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउँछ ।
बुटवल उपमहानगरपालिकाको शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख मित्रमणि खनालका अनुसार यसअघि प्रकाशित ‘हाम्रो बुटवल’ पुस्तकलाई समयानुकूल परिमार्जन, अद्यावधिक तथा सुधार गरी पुनः प्रकाशन गरिएको हो । उहाँका अनुसार यस वर्ष संस्थागत विद्यालयका करिब १७ हजार र सामुदायिक विद्यालयका करिब ७ हजार गरी २४ हजारभन्दा बढी विद्यार्थीलाई पुस्तक वितरण गरिनेछ ।
उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यार्थीलाई स्थानीय ज्ञान, संस्कृति, सम्पदा, इतिहास र विकास प्रक्रियासँग परिचित गराउने लक्ष्यका साथ पुस्तक वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ । स्थानीय सरकारको यस्तो पहलले विद्यालय शिक्षालाई स्थानीय परिवेशसँग थप जोड्दै गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij