२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

कक्षा १२ उत्तीर्ण विद्यार्थी सम्मानित, युवालाई शिक्षा र नेतृत्वसँग जोड्न आग्रह

आइतवार , आषाढ २१, २०८३

  • 496
    Shares
  • 496
    Shares
  • भैरहवा, २१ असार । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच १६ जना विद्यार्थीहरुलाई सम्मानपत्र, डायरी र कलम प्रदान गरी सम्मान गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धी मात्र नभइ परिवार, विद्यालय र समाजका लागि पनि गौरवको विषय भएको बताउनुभयो । उहाँले कक्षा १२ उत्तीर्ण गर्नु शिक्षा यात्राको अन्त्य नभइ नयाँ अवसर र चुनौतीको सुरुवात भएको उल्लेख गर्नुभयो । युवाले उच्च शिक्षा, सीपमूलक तालिम र सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा योगदान दिनुपर्ने उहाँले धारणा राख्नुभयो ।
    उहाँले सरकारले युवालाई शिक्षा, खेलकुद, उद्यमशीलता र रोजगारीसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै अवसरको सदुपयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

    त्यस्तै कार्यक्रम संयोजक गोविन्द यादवले विद्यार्थीको मेहनत र सफलतालाई समाजले सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दा अन्य विद्यार्थीमा पनि सकारात्मक प्रतिष्पर्धा र अध्ययनप्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

    युवा समाजसेवी सिद्धार्थनगर–४ का अध्यक्ष रोशन बहादुर थापाले शिक्षित र सक्षम युवा नै समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्नुभयो । उहाँले युवा समाजसेवी सिद्धार्थनगर–४ ले शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा युवा सशक्तिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले आज प्रमाणपत्र पाउने विद्यार्थीहरु स्नातक तह उत्तीर्ण भएमा युवा समाजसेवीले त्यो टीमलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी सतिशचन्द्र लाल श्रीवास्तवले सम्मानले विद्यार्थीमा थप आत्मविश्वास र जिम्मेवारीबोध बढाउने बताउनुभयो । 

    सम्मानित विद्यार्थी विष्णु कोहारले सम्मानले आगामी शैक्षिक यात्राका लागि थप प्रेरणा र उर्जा प्रदान गरेको बताउनुभयो। 

    कार्यक्रममा अभिभावक, शिक्षक, समाजसेवी, युवा तथा स्थानीय बासिन्दाको उपस्थिति थियो । सहभागीहरूले शैक्षिक उपलब्धिको सार्वजनिक सम्मानले विद्यार्थीमा सकारात्मक सोच, प्रतिष्पर्धात्मक भावना र समाजप्रतिको उत्तरदायित्व विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

    आयोजकका अनुसार स्थानीय स्तरमा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै शिक्षा र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।