
शुक्रवार , बैशाख ३१, २०७८
दाङ, ३१ वैशाख ।
घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पतालहरुलाई आह्वान गर्ने र उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।
दीर्घकालीन रुपमा अक्सिजन प्लान्ट आवश्यक देखिएको र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्सान गर्दै उपमहानगरले अनुदानको व्यवस्था गर्ने निर्णय गरेको उनको भनाइ छ । समितिका संयोजक एवं नगरका कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणमा अनुदान, सहकार्य र सहजीकरण गर्ने निर्णय गरेको हो ।
साथै बैठकले कोरोना महामारीबाट बच्न लकडाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा विशेष जोड दिन नगरबासीलाई अपिल गरेको छ । उपमहानगरपालिकाले नगरका कोरोना संक्रमित भइ भर्ना गर्नुपर्ने बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा उपचार हँुदै आएको जनाएको छ ।
जसका लागि ४५ लाख रुपैयाँ नगद दिने सहमती अनुसार ४५ लाख रुपैयाँ र ५० थान सिलिण्डर समेत हस्तान्तरण भइसकेको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले जानकारी दिए ।
त्यसै गरी प्रदेश सरकारले सञ्चालन गरेको कोरोना बिषेश अस्पताल बेलझुण्डीमा पनि नगरका विरामीको उपचार भइरहेको उनको भनाइ छ । साथै उपमहानगरपालिकाले १९ वटै वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरि संक्रमित भइ घरमै बसेका बिरामीहरुको अवस्था बुझ्ने र आवश्यक स्वास्थ्य परामर्श दिदै आएको उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij