२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

एभरेष्ट माविमा अभिभावकलाई अभिमुखीकरणसँगै शिक्षकलाई क्षमता विकास तालिम

आइतवार , आषाढ २१, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • बुटवल, २१ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयमा दुईदिने अभिभावक अभिमुखीकरण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शैक्षिक उपलब्धी, विद्यालय–अभिभावक सहकार्य तथा शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शनिबार र आइतबार गरी दुई दिन सञ्चालन गरिएको हो । अभिभावक भेटघाट, अन्तरक्रिया तथा अभिमुखीकरण नाम दिइएको कार्यक्रममा विद्यालयको सेक्टर–दुईमा आफ्ना बालबालिका अध्यापन गराउने चारसय अभिभावकहरुको सहभागीता थियो ।

    कार्यक्रममा पहिलो दिन सेक्टर–दुईका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीका करिब २५० जना अभिभावक तथा दोस्रो दिन नर्सरीदेखि कक्षा १ सम्मका करिब १५० जना अभिभावकहरूको सहभागीता रहेको विद्यालयका सह–प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

    कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यालयका शैक्षिक गुणस्तर वृद्धिका लागि निरन्तर रुपमा विद्यालयमा अभिभावक शिक्षकहरुका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीलाई शैक्षिक उत्कृष्टता हासिल गर्न सक्ने बनाउने गरी सिकाई उपलब्धीलाई बढाउने र घरमा ती विद्यार्थीलाई संस्कारसँगै थप सिकाइ उपलब्धीलाई प्रोत्साहन गर्ने जुक्ति सिकाउने कार्यलाई विद्यालयले निरन्तरता दिदै आएको बताउनुभयो ।

    कार्यक्रममा उपप्राचार्यहरु उमेश रेग्मी, विष्णु प्रसाद न्यौपाने, माला पाण्डे, कार्यक्रम संयोजक आशा भुसाललगायतले तालिम र सिकाइ निरन्तर आवश्यक पर्ने भएकाले विद्यार्थीसँगै अभिभावक र शिक्षकहरुले पनि निरन्तर सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक कमल सिलवालले विद्यालय, अभिभावक र विद्यार्थीबीचको प्रभावकारी समन्वय, बालबालिकाको सर्वांगीण विकास, सकारात्मक अभिभावकीय भूमिका तथा गुणस्तरीय शिक्षाका विविध पक्षबारेमा सहजीकरण गर्नुभएको थियो भने तुमला सिलवालले निरन्तर मूल्यांकन प्रणालीको प्रभावकारी कार्यान्वयन, विद्यार्थीको सिकाइ उपलब्धीको नियमित मूल्यांकन, अभिलेखीकरण तथा सुधारात्मक शिक्षणका विविध पक्षमा प्रशिक्षण दिनुभएको थियो ।

    यसैबीच सोही अवसरमा कक्षा १ देखि ५ सम्मका शिक्षकहरुको क्षमता विकासका लागि विद्यालयमा निरन्तर मूल्यांकन पद्दति (क्यास) विषयमा सहजीकरण गरिएको सह–प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।