२०८३, आषाढ २३ गते

Jul 07 2026 | २०८३, आषाढ २३ गते

रजा–ए–मुस्तफा मस्जिद समितिद्वारा रक्तदान, ६४ यूनिट रगत संकलन

मंगलवार , आषाढ २३, २०८३

  • 49
    Shares
  • 49
    Shares
  • बुटवल, २३ असार । रगतको अभाव भइरहेका बेला बुटवलमा मुस्लिम समुदायले ९ औं वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको इस्लामिक नयाँ वर्ष १४४८ हिजरी तथा मोहरम महिनामा कर्बलाका सहिद इमाम हुसेन (रदियल्लाहू तआला अन्हु) को स्मृतिमा रजा–ए–मुस्तफा मस्जिद समितिले कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका–१ का कार्यबाहक वडाअध्यक्ष अशोक राईले बुटवलको ऐतिहासिक महत्व बोकेको रजा–ए–मुस्तफा मस्जिदबाट धार्मिक गतिविधिसँगै शिक्षा र सामाजिक सेवामा पनि उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउनुभयो । उहाँले समितिबाट वडाभित्रका विद्यालय तथा मदरसामा भौतिक र शैक्षिक सहयोग गर्दै आएको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा समितिका अध्यक्ष अब्दुल सहमतले रक्तदानलाई जीवनदानको महान् कार्य भएको उल्लेख गर्दै मानव सेवाभन्दा ठूलो धर्म अरू कुनै नभएको बताउनुभयो । उहाँले समाजमा रगत अभावका कारण कुनै पनि बिरामीले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
    कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष अकबर खानले मानवताको सेवामा समर्पित भएर संस्था अघि बढिरहेको बताउनुभयो । बिरामीलाई फलफूल वितरण, अनाथ तथा अपांगता भएका व्यक्तिलाई सहयोग, शैक्षिक सामग्री वितरणलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले संस्थाले कामकै आधारमा समाजमा पहिचान बनाएको बताउनुभयो ।

    इमाम मुक्ति साबले पवित्र कुरानमा उल्लेखित मानव सेवाको महत्वबारे प्रकाश पार्दै ‘जसले एउटा मानिसको जीवन बचाउँछ, उसले सम्पूर्ण मानव जातिको जीवन बचाएसरह हुन्छ’ भन्ने सन्देश सुनाउनुभएको थियो ।

    यसैबीच बुटवल उपमहानगरपालिका–१ वडा कार्यालयको सहयोगमा समितिद्वारा सञ्चालित मदरसामा अध्ययनरत २५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला, फोटोकपी पेपर तथा पोर्टेबल स्पिकर सिस्टम हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा समितिका पूर्वअध्यक्ष मक्बुल मियाँ, संस्थापक अध्यक्ष मोहम्मद इस्लाम, मदिना मस्जिद समितिका सबुर मियाँलगायतले समाज रुपान्तरणमा सामाजिक तथा धार्मिक संस्थाहरुको योगदानबारे चर्चा गर्नुभयो ।

    नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६४ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समितिका महासचिव हसरदिनले जानकारी दिनुभयो ।