
शुक्रवार , बैशाख ३१, २०७८
भैरहवा, ३१ वैशाख ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा बढ्दै गएको कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न विभिन्न सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका क्षेत्रका विभिन्न औषधी पसल, स्थानीय चिकित्सक, हेल्थ क्लिनिक, पोलिक्लिनिक, प्रहरी, जनप्रतिनिधि, संचारकर्मी, स्वास्थ्यकर्मी लगायतको सहभागितामा उक्त सम्पन्न भएको हो ।
सबै सरोकारवालाहरुको साझा अभियान बनाएर कोभिड–१९ विरुद्ध लड्न सरकारले लागु गरेको मापदण्ड अनुरुप कार्य गर्ने निर्णय भएको कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनबहादुर कुंवरले बताए । विवाह, भोजभतेरका कारण संक्रमितको संख्या बढिरहेको यस्ता क्रियालापमा हुने भिडभाड रोक्नुपर्ने सबैले जोड दिएको कुंवरले जानकारी दिए ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका आयुर्वेद शाखा प्रमुख रविन्द्र प्रसाद मिश्रले सबैलाई योग तथा आयुर्वेदिक पद्दतिमा लाग्नुपर्ने आग्रह गरे । कोरोना महामारी नियन्त्रण गर्न आयुर्वेदिक औषधी तथा योगले महवपूर्ण भूमिका खेल्ने भएकाले बिहानसांझ घरमा बालबालिकाहरुलाई सबैले योग गराई योग शिक्षा दिन आग्रह समेत गरेका थिए ।
सुरक्षाकर्मी नागरिकको रक्षाको खटेकोले नेपाल सरकारले दिएको निर्देशनको पालना गरी घरमा सुरक्षित बस्न इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले आग्रह गरे । आपतकालिन अवस्थामा पनि सेवा दिदै आएका विभिन्न स्वास्थ्य संस्थामा पनि अनावश्यक भिडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी सेवा प्रवाह गर्न खत्रीले आग्रह गरेका थिए । निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नुपर्ने उनीहरुको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij