२०८३, आषाढ २३ गते

Jul 07 2026 | २०८३, आषाढ २३ गते

अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी

मंगलवार , आषाढ २३, २०८३

  • 382
    Shares
  • 382
    Shares
  • अर्घाखाँची, २३ असार । लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलासिस सेवा प्राप्त गर्नेछन् ।

    अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका अनुसार डायलासिस सेवाका लागि अत्यावश्यक आरओ (रिभर्स अस्मोसिस) पानी शुद्धीकरण प्रणाली जडानको काम सुरु भइसकेको छ । डायलासिस सेवाको गुणस्तर सुनिश्चित गर्न आरओ प्रणाली अनिवार्य मानिने भएकाले यसको स्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रारम्भिक चरणमा न्यूनतम मापदण्डअनुसार पाँचवटा डायलासिस मेसिन सञ्चालनमा ल्याइनेछ । आवश्यक उपकरण जडान, प्राविधिक जनशक्ति व्यवस्थापन र सेवा सञ्चालनका अन्य तयारीसमेत सँगसँगै भइरहेको छ ।

    हाल अर्घाखाँचीका मृगौलाका बिरामी नियमित डायलासिसका लागि बुटवल, काठमाडौं तथा अन्य जिल्लामा पुग्न बाध्य छन् । अस्पतालमै सेवा सञ्चालन भएपछि समय र खर्च दुवै बचत हुनुका साथै उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत अर्घाखाँची अस्पतालमा डायलासिस सेवा विस्तारको काम अघि बढाइएको हो । प्रदेश सरकारले जिल्लास्तरमै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने नीतिअनुसार यो सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको गृह जिल्ला अर्घाखाँचीमा पछिल्ला वर्षहरूमा स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको छ । डायलासिस सेवा सञ्चालनमा आएपछि जिल्लाको स्वास्थ्य सेवामा नयाँ उपलब्धी थपिने विश्वास गरिएको छ ।