२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

संक्रमण घटेपनि टरेन डेंगुको जोखिम, रुपन्देहीमा ‘खोज र नष्ट गर’ अभियान सुरु हुँदै

आइतवार , आषाढ २८, २०८३

  • 280
    Shares
  • 280
    Shares
  • भैरहवा, २८ असार । केही वर्षअघिको महामारीको तुलनामा रुपन्देहीमा डेंगु संक्रमितको संख्या घट्दो क्रममा देखिए पनि जोखिम भने अझै टरेको छैन । वर्षायामसँगै एडिस जातको लामखुट्टेको प्रजनन् बढ्ने भएकाले स्वास्थ्य कार्यालय रुपन्देहीले स्थानीय तहसँगको सहकार्यमा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउने भएको छ ।
    स्वास्थ्य कार्यालय रुपन्देहीले भैरहवामा आयोजना गरेको डेंगु तथा जापानिज इन्सेफ्लाइटिस रोकथामसम्बन्धी समन्वय तथा पूर्वतयारी कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म जिल्लामा ३१९ जना डेंगु संक्रमित फेला परेको जानकारी दिइएको थियो । 

    अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ६३५, २०८०/८१ मा १ हजार २५७ र २०७९/८० मा २ हजार २५४ जना संक्रमित भएका थिए । स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी १७६, सिद्धार्थनगर नगरपालिकामा ३८, तिलोत्तमा नगरपालिकामा ८, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ३, कोटहीमाई गाउँपालिकामा ३, मर्चवारी गाउँपालिकामा २, मायादेवी गाउँपालिकामा १ र सम्मरीमाई गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् । अन्य पालिकामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छैन ।

    कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीको मलेरिया इन्स्पेक्टर अनुराधा झाले डेंगु सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा अण्डा पार्ने भएकाले घर वरिपरी रहेका टायर, गमला, ड्रम, बाल्टिन, जर्किन, कुलर, फूलदानी तथा निर्माणाधीन भवनमा पानी जम्न नदिन आग्रह गर्नुभयो । उहाँले लामखुट्टेको अण्डा पानीबिनै महिनौंसम्म जीवित रहन सक्छ । बिहान र साँझ बढी सक्रिय हुने यो लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेपछि अर्को स्वस्थ व्यक्तिलाई टोक्दा डेंगु भाइरस सर्ने गर्छ ।
    उहाँले डेंगुका बिरामीमा सामान्यतया उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडिपट्टि दुख्ने, शरीर तथा जोर्नी दुख्ने, छालामा रातो दाग देखिने, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिने बताउनुभयो । पेट अत्यधिक दुख्ने, गीजा वा नाकबाट रगत बग्ने, अत्यधिक कमजोरी हुने वा बेहोस हुने जस्ता गम्भीर लक्षण देखिए तुरुन्त अस्पताल पुग्न उहाले आग्रह समेत गर्नुभयो ।

    डेंगुको कुनै विशेष औषधि छैन । समयमै परीक्षण, चिकित्सकको सल्लाहअनुसार उपचार, प्रशस्त झोलिलो पदार्थ सेवन तथा पर्याप्त आराम नै यसको प्रभावकारी व्यवस्थापन हो । साथै चिकित्सकको सल्लाहबिना आइबुप्रोफेन वा एस्पिरिनजस्ता औषधि सेवन नगर्न पनि झाले सुझाव दिनुभयो ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले डेंगु नियन्त्रणका लागि सबैको सहभागीता अपरिहार्य रहेको बताउनुभयो । उहाँले सबै नगरबासीलाई प्रत्येकका घर, आँगन र कार्यस्थल वरिपरी पानी जम्न नदिई लामखुट्टेको बासस्थान नष्ट गर्न समेत आग्रह गर्नुभयो । ‘डेंगु नियन्त्रण नगरपालिकाको मात्रै दायित्व होइन, समुदायको सक्रिय सहभागीताबिना यो सम्भव हुँदैन । विद्यालयदेखि टोल–टोलसम्म सचेतना फैलाएर अभियानलाई सफल बनाउँछौं,’नगरप्रमुख खाँले भन्नुभयो ।

    स्वास्थ्य कार्यालय रुपन्देहीको प्रमुख (जनस्वास्थ्य प्रशासक) उमादेवी थापाले वर्षायाममा डेंगुको जोखिम बढ्ने भएकाले स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र समुदायबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक हप्ता घर तथा कार्यालय वरिपरी पानी जम्ने स्थानको खोजी गरी नष्ट गर्न सके डेंगु नियन्त्रणमा ठूलो योगदान पुग्ने भन्दै सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्नुभयो ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय कुष्ठ वरिष्ठ अधिकृत टीकाराम अधिकारीले डेंगुमा उपचारभन्दा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले समुदायको सक्रिय सहभागीता, सरसफाई र नियमित ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत विकास श्रेष्ठ, फेरयमेड परियोजनाका तुल्सीराम खनाल, किरण श्रेष्ठ तथा विभिन्न विद्यालयका प्रधानाध्यापक, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षा शाखाका प्रतिनिधि, उद्योग वाणिज्य संघ, लुम्बिनी प्रादेशिक अस्पताल, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीको सहभागीता थियो ।

    सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विजय नाथ चौधरीले नगरपालिकाभित्र असार ३० र ३१ गते ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने बताउनुभयो । 
    कार्यक्रम फेयरमेड परियोजना र इन्द्रेणी ग्रामीण विकास परिषद्को सहयोग तथा स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा भएको थियो ।