२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

अमेरिकाद्वारा इरानमाथि पुनः सामुन्द्रिक नाकाबन्दीको घोषणा

मंगलवार , आषाढ ३०, २०८३

  • 262
    Shares
  • 262
    Shares
  • काठमाडौँ, ३० असार । अमेरिकी केन्द्रिय कमाण्डले मंगलवारदेखि इरानी बन्दरगाहहरूमा हुने आवतजावतमा पुनः नाकाबन्दी शुरु गर्ने घोषणा गरेको छ ।

    सेन्टकॉमले सोमवार एक विज्ञप्ति जारी गर्दै यसअघि अप्रिल १३ देखि जुन १८ सम्म कार्यान्वयन गरिएको नाकाबन्दीलाई निरन्तरता दिन लागिएको जानकारी दिएको हो ।

    सामाजिक सञ्जाल ‘एक्स’ मा सेन्टकॉमले दिएको जानकारी अनुसार, अघिल्लो दुई महिनाको नाकाबन्दीका क्रममा अमेरिकी बलले १४० भन्दा बढी जहाजहरूको मार्ग परिवर्तन गराएको थियो भने निर्देशन उल्लंघन गर्ने ९ वटा जहाजहरूलाई निष्क्रिय पारेको थियो ।

    सोही अवधिमा मानवीय सहायता सामग्री बोकेका ५० भन्दा बढी व्यावसायिक जहाजहरूलाई भने आवतजावत गर्न अनुमति दिइएको सेन्टकॉमले जनाएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले रणनीतिक महत्त्वको हर्मुज जलसन्धिमा नौसैनिक नाकाबन्दी पुनः शुरु गर्न लागेको बताउनुभएको छ ।

    राष्ट्रपति ट्रम्पले उक्त जलमार्ग प्रयोग गर्ने सबै मालवाहक जहाजहरूमा २० प्रतिशत महसुल समेत लगाइने घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः शुरु गरिएको विषयमा गत शुक्रवार नै अमेरिकी कंग्रेसलाई औपचारिक रूपमा जानकारी गराउनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।