२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

अस्पतालमा बेसार, ज्वानो पानी र चिया–अण्डा वितरण सुरु

शनिवार , जेठ १, २०७८

भैरहवा, १ जेठ ।  
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले कोरोनाको संक्रमण भएर भीम अस्पतालमा रहेका बिरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण सुरु गरको छ ।

शनिबारदेखि सुरु गरिएको वितरण कार्यक्रमलाई केही दिनसम्म निरन्तरता दिने माओवादी केन्द्र नगर कमिटीले जनाएको छ । 
दिनको तीन पटक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ देखि २ बजे र सांझ ५ देखी ७ बजेसम्म बिरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्वानो पानी, चिया र अण्डा वितरण गरिने माओवादी केन्द्र सिद्धार्थनगर इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन) जानकारी दिए ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएका बिरामी र  बिरामी कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानीय बजारमा निषेधाज्ञा जारी भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न सुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी प्रसाद न्यौपाने (टी.पी) ले बताए ।

वितरण कार्यक्रम पार्टीको नगर कमिटी, जनवर्गीय संगठन वाइसीएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ । महामारीको बेलामा आपत्तमा परेका बिरामीहरुका लागि मानवताको हिसाबले सहयोग गरिएको माओवादी केन्द्रका नेता फैज अहमद खानले जनाए ।

सो पार्टीले अस्पतालमा सुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सबैले आ–आफ्नो क्षेत्र बाट सहयोग पुर्याउन पनि अनुरोध गरेको छ ।