शुक्रवार , श्रावण १, २०८३
भैरहवा, १ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित प्रतिमान स्मृति प्रतिष्ठानको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको आयोजना, यशोधरा इको क्लबको सह–आयोजना तथा डिभिजन वन कार्यालयको सहयोगमा प्रतिमान–नीमा कलेज परिसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कल्की फूल, गुलमोहर, जरुल, निम, अमला, बेल, अशोका, राज वृज, जामुन, टाकी फूल र तेज पात गरी १९५ वटा विरुवा रोपिएको प्रतिष्ठानले जनाएको छ ।
यशोधरा इको क्लबले एक विरुवा, एक विद्यार्थी अभियान सञ्चालन गरेको क्लबको उपाध्यक्ष दिया पछाईले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि डिभिजन वन कार्यालय, रुपन्देहीका प्रमुख (सिनियर डिभिजनल वन अधिकृत) प्रवीण विडारीले वातावरणीय समस्या चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले विद्यार्थी देशको बौद्धिक वर्ग र सचेत नागरिक भएकाले आफ्नो क्षेत्रबाट वातावरण संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सफा, हरियाली र सुन्दर नेपाल बनाउने अभियानलाई सफल बनाउनुपर्ने बताउनुभयो । वृक्षारोपणको महत्वबारे बुझ्नुपर्छ । जलवायु संकट÷परिवर्तनका कारणले ल्याउनु प्राकृतिक प्रकोप ल्याउँछ । उहाँले भन्नुभयो–‘विकास र संरक्षणलाई सँगसँगै लैजानुपर्छ ।’ रुख–विरुवा रोप्नाले अक्सिजन मात्र प्राप्त नभइ यसले प्रदुषण कम गर्न पनि सहयोग गर्ने उहाँको भनाइ छ । वृक्षरोपण सम्बन्धी समाजमा सचेतना फैलाउन उहाँले विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।
त्यस्तै प्रतिमान–नीमा स्मृति प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले मानव स्वास्थ्यका लागि वृक्षारोपण कार्यक्रम गरिएको बताउनुभयो। उहाँले विद्यार्थीहरुलाई भन्नुभयो–‘तपाईंहरू स्वास्थ्य क्षेत्रका भावी प्राविधिक जनशक्ति हुनुहुन्छ । तपाईंहरूको ज्ञान, सीप, अनुशासन र सेवाभावले भविष्यमा हजारौं बिरामीको जीवनमा सकारात्मक प्रभाव पार्नेछ । त्यसैले अध्ययनसँगै राम्रो चरित्र, जिम्मेवारी र सामाजिक चेतनाको विकास गर्नु पनि उत्तिकै आवश्यक छ ।’
प्रतिमान–निमा कलेजले ‘ग्रिनरी क्याम्पस’ को अवधारणालाई विशेष महत्व दिएको निर्देशक के.सी.ले बताउनुभयो । ‘हरियाली वातावरण केवल सुन्दरता मात्र होइन, स्वस्थ जीवन, स्वच्छ सोच र दिगो भविष्यको आधार पनि हो । एउटा हरियो र सफा क्याम्पसले अध्ययनका लागि सकारात्मक वातावरण सिर्जना गर्छ, मानसिक स्वास्थ्यमा सहयोग पुर्याउँछ र वातावरण संरक्षणप्रति हाम्रो जिम्मेवारीलाई पनि झल्काउँछ, ’उहाँले भन्नुभयो ।
प्रतिमान निमा स्मृति प्रतिष्ठान एक नाफारहित सामाजिक संस्था भएको बताउनुभयो । यसको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा, सीप विकास र सामाजिक उत्तरदायित्वमार्फत सक्षम नागरिक निर्माण गर्नु भएको उहाँले बताउनुभयो । यसै उद्देश्यलाई आत्मसात गर्दै प्रतिमान–नीमा कलेजले मेडिकल ल्याब टेक्निसियन कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक के.सी.ले जानकारी दिनुभयो ।
उहाँले कलेज परिसरलाई सधैं सफा, स्वच्छ र हराभरा राख्न सहयोग गर्न, वृक्षारोपण तथा विरुवा संरक्षण कार्यक्रममा सक्रिय सहभागीता जनाउन, प्लाष्टिकजन्य फोहोरको प्रयोग सकेसम्म कम गर्न, पानी, बिजुली तथा अन्य स्रोतसाधनको मितव्ययी प्रयोग गर्न र वातावरण संरक्षणलाई आफ्नो व्यक्तिगत जिम्मेवारीको रूपमा ग्रहण गर्न विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।
प्रतिमान–नीमा कलेजका प्रिन्सिपल मनोहर थारुको स्वागत तथा आउट फिल्ड कोर्डिनेटर ऋषिराम चुदाँलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij