२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

अक्सफोर्ड माविद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

आइतवार , श्रावण ३, २०८३

  • 397
    Shares
  • 397
    Shares
  • बुटवल, ३ साउन । रुपन्देहीको बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

    कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) हिसान केन्द्रीय सदस्य तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाललगायत सञ्चालक समिति, विभागीय प्रमुख, प्राध्यापक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले अक्सफोर्डले गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरूले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ आफ्नो शैक्षिक यात्रालाई सफल बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीको व्यक्तित्व विकासलाई पनि समान प्राथमिकतामा राखेको बताउनुभयो ।

    त्यस्तै विद्यालयका प्राचार्य तथा हिसान केन्द्रीय सदस्य दिनेश भुसालले नवआगन्तुक विद्यार्थीलाई विद्यालय परिवारमा स्वागत गर्दै अक्सफोर्डले विद्यार्थीको भविष्य निर्माणलाई केन्द्रमा राखेर आधुनिक, व्यावहारिक र नतिजामुखी शिक्षण प्रणाली अवलम्बन गरिरहेको बताउनुभयो । उहाँले विद्यालयले उत्कृष्ट नतिजा मात्र नभइ अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्व भएका सक्षम नागरिक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षण–सिकाइ गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थी तथा अभिभावकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । सो अवसरमा प्राध्यापक सुमन भुसालले ३ दशमलव ७० वा सोभन्दा माथि जीपीए ल्याउने ११ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

    त्यस्तै ३ दशमलव ६० वा सोभन्दा माथि जीपीए ल्याउने २९ जना विद्यार्थीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले यस्ता प्रोत्साहन कार्यक्रमले विद्यार्थीलाई अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उपस्थित अतिथिहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो भने नवआगन्तुक विद्यार्थीहरूको स्वागतमा गीत, नृत्य तथा विविध साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा लोक दोहोरी गायक तथा पूर्व विद्यार्थी रीतु थापाले उत्कृष्ट गीतमार्फत विद्यार्थी तथा प्राध्यापकहरूलाई छमछमी नचाउनुभएको थियो । उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूबीच आत्मीयता, सहकार्य र भ्रातृत्वको भावना थप सुदृढ भएको आयोजकले जनाएको छ ।

    कार्यक्रमको सञ्चालन विवेचना प्रसाई र श्रीसा न्यौपानेले गर्नुभएको थियो भने संयोजन प्राध्यापकद्वय झविन्द्र मरासिनी र कपिल ढकालले गर्नुभएको थियो ।