२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

भैरहवामा नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता–२०८३ हुँदै

शनिवार , श्रावण ९, २०८३

  • 385
    Shares
  • 385
    Shares
  • भैरहवा, ९ साउन । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा यही साउन १० गते आइतबार (भोली) नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता–२०८३ हुने भएको छ । नेपाल र भारतका पत्रकारबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित प्रतियोगिताबारे शनिबार आयोजकले भैरहवामा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    रुपन्देही क्रिकेट संघको सह–आयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो । उहाँका अनुसार नेपाल–भारत मिडिया कपको यो तेस्रो संस्करण भारतमा भइसकेको र नेपालमा दोस्रो संस्करण आयोजना हुन लागेको हो । 

    ‘नेपाल र भारतबीचको ऐतिहासिक, साँस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई जनस्तरमा थप मजबुत बनाउन सञ्चारकर्मीबीचको सहकार्य महत्वपूर्ण हुने भएकाले खेलकुदमार्फत दुई देशका पत्रकारबीच मित्रता, भाइचारा र आपसी विश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । यो प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ, ’अध्यक्ष रायमाझीले भन्नुभयो । प्रतियोगितामा नेपाल र भारतका पत्रकारको सहभागीता रहने उहाँले बताउनुभयो ।

    प्रतियोगितामा अतिथि तथा दर्शक गरी करिब एक हजारजनाको सहभागीता रहने अपेक्षा गरिएको कार्यक्रम संयोजक तथा क्लबका कार्यसमिति सदस्य भिम भण्डारीले बताउनुभयो । ‘प्रतियोगिताको मुख्य आकर्षण नेपाल र भारतका पत्रकारबीच हुने मैत्रीपूर्ण क्रिकेट खेल रहनेछ । प्रतियोगितासँगै उदटन समारोह, पुरस्कार तथा ट्रफी वितरण, पत्रकार तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम तथा नेपाल–भारत सम्बन्ध र सीमावर्ती क्षेत्रका साझा विषयमा सर्वपक्षीय अन्तरक्रिया आयोजना समेत गरिनेछ, ’उहाँले भन्नुभयो ।

    लुम्बिनी प्रेस क्लब र भारतको महराजगञ्ज प्रेस क्लबबीच विगतदेखि कायम रहँदै आएको मैत्रीपूर्ण तथा संस्थागत सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । प्रतियोगिताले दुई देशका पत्रकारबीच समाचार तथा सूचना आदानप्रदान, व्यवसायिक सहकार्य तथा सीमापार पत्रकारितालाई थप प्रभावकारी बनाउने भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।
    ‘सीमावर्ती क्षेत्रमा देखिने लागूऔषध ओसारपसार, अपराध, मानव बेचबिखन, अवैध व्यापार तथा सामाजिक विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीबीचको सहकार्य महत्वपूर्ण छ । यस प्रतियोगिताले सामाजिक सद्भाव, पर्यटन प्रवद्र्धन, व्यापारिक सम्बन्ध तथा नेपाल–भारतबीचको जनस्तरीय सम्बन्ध विस्तारमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ, ’उहाँले भन्नुभयो ।

    प्रतियोगिता सञ्चालनका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।  प्रतियोगिताको सफल आयोजनाका लागि सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघ-संस्था तथा शुभेच्छुकबाट आर्थिक, संस्थागत, वस्तुगत तथा सेवामूलक सहयोगका लागि अनुरोध गरिएको आयोजकले जनाएको छ ।

    लुम्बिनी प्रेस क्लब, नेपालले खेलकुदमार्फत नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पत्रकारबीचको सहकार्यलाई थप उचाइमा पुर्याउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको क्लबको भनाइ छ ।

    पत्रकार सम्मेलनमा रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले आगामी वर्षमा पनि क्रिकेट प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    त्यस्तै प्रेस क्लब अफ महाराजगंज, भारतका अध्यक्ष अमित त्रिपाठीले क्रिकेट प्रतियोगिताको माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवाल, दीपक घिमिरेलगायतले बोल्नुभएको थियो ।