
सोमवार , जेठ ३, २०७८
बुटवल, ३ जेठ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माओवादी आन्दोलनसंग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावना अनुसार नै एमालेमा उचित व्यवस्थापन गरिने बताएका छन् । तत्कालिन पार्टी महासचिव मदनकुमार भण्डारी र संगठ विभाग प्रमुख जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा भर्चुअल रुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोखरेलले एमालेभित्रको विवादको समाधान नवगठित कार्यदलमार्फत हुने स्पष्ट पारेका छन् ।
‘समकालीन विश्व परिस्थिति र माक्र्सवादको सान्दर्भिकता’ विषयक तत्कालिन महासचिव भण्डारीको कोलकोतामा प्रस्तुत कार्यपत्र (पुस्तक)मा आधारित अन्तरक्रियामा पोखरेलले एमालेभित्रको विवादको समाधान र माओवादी पृष्ठभुमिका नेता कार्यकर्ताको उचित व्यवस्थापन पनि कार्यदलमार्फत हुने स्पष्ट पारेका हुन् ।
एमालेभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा गठित कार्यदलका सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले ‘जनताको बहुदलीय जनवाद’को मार्गदर्शनमा रहेर यसलाई अझ विकास गर्दै समृद्धिको यात्रामा पार्टी र सरकारको नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्।
विश्वमा क्रान्तिपछिको रुपान्तरणमा समाजवादी पार्टीमा अलमल देखिने भए पनि नेपालका सन्दर्भमा उपयुक्तरुपमा क्रान्तिका कार्यभार पूरा गर्न जबज सार्थक रहेको नेता पोखरेलको टिप्पणी थियो । उनले भने-‘समाजवादको यात्रामा कम्युनिष्ट आन्दोलनमा हाल दुईथरी धारणा देखिए पनि राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै क्रमश : समाजवादमा जाने वर्तमान सरकारको सोच र कार्यक्रम उपयुक्त रहेको छ ।’ नेता पोखरेलले थपे-‘एमाले संशोधनवादको विरोधी पार्टी हो तर हामी उग्र क्रान्तिकारितामा पनि विश्वास गर्दैनौँ ।”
कार्यक्रममा एमालेका नेता युवराज कार्की, फाउण्डेशनका केन्द्रीय सदस्य टीकाप्रसाद ढकाल, फाउण्डेशनका सचिव पेम्बा लामा लगायतले मदन भण्डारीका विचारलाई समयसापेक्ष विचारका रुपमा स्थापित गर्न बौद्धिक जगतमा अध्ययन र छलफल निरन्तर सञ्चालन गर्ने गरिएको बताएका थिए । आज भन्दा ठिक २८ वर्ष अगाडि २०५१ साल जेठ ३ गते पोखराबाट चितवन जानेक्रममा दासढुङ्गामा भएको जीप दुर्घटनामा परि नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij