२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

कोभिड–१९ को उपचारसंग सम्बन्धित सामग्रीको भन्सार जाँचपास छिटोछरितो बनाउन अर्थमन्त्रीको निर्देशन

सोमवार , जेठ ३, २०७८

काठमाडौं,  ३ जेठ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसंग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएको छन् ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिएका हुन् ।

उनले एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्यसम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिए ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीहरुको भन्सार जाँचपास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिए ।

राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँचपासका लागि छिमेकी मुलुकको भन्सार कार्यालयहरुसंग समन्वय गरी चौबिसै घण्टा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिएका थिए ।