२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भीम अस्पताललाई रोहिणीको ५ लाख सहयोग

सोमवार , जेठ ३, २०७८

भैरहवा, ३ जेठ । 
रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ५ लाख रुपैयाँको चेक अस्पतालका मेडिकल सुपरिटण्डेण्ट डा. शकुन्तला गुप्तालाई प्रदान गरेका छन् ।

चेक बुझ्दै मेसु गुप्ताले अहिले अस्पताललाई स्थानीय तह लगायत अन्य संघ संस्थाहरुका सहयोग आवश्यक रहेको बताइन् । कोभिडको यो महामारीको समयमा अहिले जनशक्ति र अक्सिजनमा अत्याधिक खर्च रहेको उनले बताइन् । उनले समयमै सरकारी बजेट आई नपुग्दा अक्सिजनको रकम बुझाउन समेत अप्ठ्यारो भइरहेको बताइन् । यस्तो अवस्थामा रोहिणी गाउँपालिकाको यो सहयोग अति महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले माथिबाट बजेट आइपुगे पनि सो रकमलाई अन्य शिर्षकमा खर्च गर्न सक्ने बताइन् । अहिलेसम्म रोहिणी गाउँपालिकाबाहेक सम्मरीमाई गाउँपालिकाले पनि ३ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिईन ।

चेक प्रदान गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जिल्लास्थित सरकारी अस्पतालको संरक्षण गर्नु रुपन्देहीको सबै स्थानीय तहहरुको समान दायित्व रहेको बताए । उनले सरकारी अस्पताललमा कुनै एक पालिकाको मात्र नभई सबै पालिकाका बिरामी उपचार पाउने भएकोले यसको संरक्षणमा सबैका दायित्व हुनु पर्ने जिकिर गरे । उनले रोहिणी गाउँपालिकाले निर्णय नै गरेर अस्पताललाई सहयोग गरेको बताए । ‘यसले अरु पालिकाहरुलाई पनि भीम अस्पतालप्रतिको दायित्व बोध गराउने काम गर्दछ, उनले भने ‘अहिले आवश्यक परेको समयमा सहयोग नगरे कहिले गर्ने ?’

सहयोग प्रदान गर्ने क्रममा गाउँपालिका अध्यक्ष यादवले अस्पतालमा रहेका रोहिणी गाउँपालिकाका बिरामीका साथै अन्य बिरामीहरुलाई भेटेर उनीहरुलाई आस्वासन दिएका थिए ।

रुपन्देही जिल्लाका सरकारी अस्पतालको रुपमा रहेको भैरहवास्थित धीम अस्पतालमा अहिले रुपन्देही जिल्लाका सबै पालिकाका मात्र नभइ अन्य जिल्लाका पनि कोभिडका बिरामीहरुको उपचार भइरहेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अहिले भीम अस्पतालमा ८१ जनासम्म कोभिडकै बिरामी रहेको र सबै जना अक्सिजनमा रहेको जानकारी दिइन् ।