२०८३, श्रावण १९ गते

Aug 04 2026 | २०८३, श्रावण १९ गते

सूर्यपुरामा रण अम्बिका शाह आँखा अस्पतालको नवौं शाखा सञ्चालनमा

मंगलवार , श्रावण १९, २०८३

  • 334
    Shares
  • 334
    Shares
  • भैरहवा, १९ साउन । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिएको छ । सोही क्रममा अस्पतालले रूपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६ स्थित सूर्यपुरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
    रण अम्बिका शाह आँखा अस्पताल र सेवा फाउण्डेशनको सहकार्यमा अस्पतालको नवौं शाखाको रूपमा ‘गैडहवा आँखा उपचार केन्द्र’ मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको हो ।

    ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै गुणस्तरीय र सुलभ आँखा उपचार सेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको नवनिर्मित शाखाको उद्घाटन समारोह गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाको सभापतित्वमा सम्पन्न भएको थियो ।

    उद्घाटन समारोहमा सह–प्राध्यापक डा. बिनिता भट्टराईले स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन नेपाल नेत्रज्योति संघ रूपन्देही शाखाका सचिव गणेश बहादुर क्षेत्रीले गर्नुभएको थियो ।

    सो अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल, कार्यक्रम सभापति सागर प्रताप राणा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य मिन प्रसाद घिमिरे, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गैडहवाका अध्यक्ष चन्द्र बहादुर घर्ती र गैडहवा–५ का अध्यक्ष विजय कुमार शर्मा लगायतले बोल्दै नयाँ आँखा उपचार केन्द्र स्थापनाले स्थानीयबासीलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

    WhatsApp Image 2026-08-04 at 4.57.21 PM.jpeg

    शाखा उद्घाटनको विशेष अवसरमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा २३० जना स्थानीय बिरामीहरूले आफ्नो आँखाको परीक्षण गराई सेवा लिएको अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेयले जानकारी दिनुभयो । सूचना अधिकारी पाण्डेयका अनुसार शिविरमा आँखा परीक्षण गराएकामध्ये ३० जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । मोतियाबिन्दुका रोगीहरुलाई शल्यक्रियाको लागि श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवामा रिफर गरिएको थियो ।

    WhatsApp Image 2026-08-04 at 4.57.42 PM.jpeg

    अस्पतालका बाह्य कार्यक्रम निर्देशक (नेत्र अधिकृत) संजीव अधिकारी नेतृत्वको टोलीले शिविरमा स्थानीयबासीको आँखा परीक्षण गरेको थियो ।