२०८३, श्रावण २० गते

Aug 05 2026 | २०८३, श्रावण २० गते

भारतको केरलामा भारी वर्षा र बाढीका कारण १५ जनाको मृत्यु, सात बेपत्ता

बुधवार , श्रावण २०, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • काठमाडौं, २० साउन । भारतको दक्षिणी राज्य केरलामा परेको अविरल वर्षा र त्यससँग सम्बन्धित विभिन्न घटनाहरूमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य सात जना बेपत्ता भएका छन् ।

    राज्यमा बाढीको पछिल्लो अवस्थाबारे उच्च अधिकारीहरूसँगको समीक्षा बैठकपछि मुख्यमन्त्री भी.डी. सतिशनले सोमबार सञ्चारकर्मीहरूलाई सो जानकारी दिएका हुन् ।

    वर्षा जारी रहेकाले सरकारले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तिब्र पारेको छ । सरकारी तथ्यांकअनुसार वर्षा र बाढीका कारण विस्थापित भएका ११ हजार १८ जनालाई राज्यभर सञ्चालित ३१६ वटा राहत शिविरमा आश्रय दिइएको छ ।

    यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी अगस्ट ३ र ६ मा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको वेगमा चल्ने तिब्र हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

    केरला, कर्नाटक र लक्षद्वीप तटीय क्षेत्रमा ६० किलोमिटरसम्मको हावा चल्ने र समुन्द्र अशान्त रहने सम्भावना रहेकाले माझीहरूलाई समुन्द्रमा नजान सुझाव दिइएको छ ।

    भारतीय राष्ट्रिय महासागर सूचना सेवा केन्द्र (आईएनसीओआईएस) ले उत्तरी केरला तटमा २.७ देखि ३.५ मिटर सम्मका उच्च छालहरू उठ्नसक्ने चेतावनी दिँदै तटीय क्षेत्रका बासिन्दाहरूलाई शतर्क रहन आग्रह गरेको छ । अविरल वर्षाका कारण एर्नाकुलमका नदीहरूमा जलस्तर बढेपछि नदी किनार र तल्लो क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च शतर्कता अपनाउन भनिएको छ । 

    प्रशासनले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र नदी, खोला, झरना तथा पानी जमेका क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ । बाढी र पहिरोको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई स्थानीय अधिकारीहरूको निर्देशन पूर्ण रूपमा पालना गर्न र नियमित रूपमा आधिकारिक जानकारीहरू लिइरहन अनुरोध गरिएको छ ।