२०८३, श्रावण २० गते

Aug 05 2026 | २०८३, श्रावण २० गते

सरकारको दिनगन्ती शुरु भयो : महासचिव विप्लव

बुधवार , श्रावण २०, २०८३

  • 166
    Shares
  • 166
    Shares
  • काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती शुरु भएको टिप्पणी गर्नुभएको छ ।

    बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गर्नुभएको हो ।

    परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उहाँले जनताले ठूलो धोका महशुस गरिरहेको बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उहाँको भनाइ छ ।

    देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले विदेशी ऋणको भार, उत्पादनमा कमी, सुकुम्वासी समस्या, मिटरब्याज र लघुवित्त पीडितका समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाउनु भयो । सरकारले यथाशिघ्र यी समस्या समाधान नगरे नयाँ आन्दोलन निर्माण गर्ने चेतावनी समेत उहाँले दिनुभयो । कम्युनिस्ट पार्टीहरूबीचको एकता र सहकार्यको सन्दर्भमा महासचिव विप्लवले परम्परागत ढङ्गले पार्टी थप्ने वा फुटाउने प्रवृत्तिले निकास नदिने स्पष्ट पार्नुभयो । 

    महासचिव चन्दले भन्नुभयो, ‘राजनीतिक वृत्त, बुद्धिजीवी र कूटनीतिज्ञहरूबीच यो सरकारको दिनगन्ती सुरु भएको चर्चा भइरहेको छ । कतिपयले त दशैँ–तिहार अगावै सरकार परिवर्तन हुनेसम्मको अड्कलबाजी गरिरहेका छन् । यो कति यथार्थ हो भन्ने कुरा आगामी दिनले प्रष्ट पार्ने नै छ, तर सरकारप्रति जनमानसको असन्तुष्टि भने बढ्दो छ ।’

    महासचिव चन्दले मुलुकको आन्तरिक राजनीतिक परिस्थितिसँगै अन्तर्राष्ट्रिय शक्ति सन्तुलन पनि चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय शक्तिहरूका गतिविधि नेपाली जनताको अपेक्षा र राष्ट्रिय हित अनुकूल हुन नसक्नु चुनौतीपूर्ण रहेको उहाँले स्पष्ट पार्नुभयो ।