२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रामग्राम नगरपालिकाद्वारा कारागारका कैदीबन्दीलाई स्वास्थ्य सामग्री वितरण

सोमवार , जेठ ३, २०७८

परासी, ३ जेठ । 
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री वितरण गरेका हुन् । 

यस्तो विषम परिस्थितिमा आम नागरिकलाई कोभिड–१९ बाट बचाउन र संक्रमितलाइ उपचार सेवा प्रदान गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् । तर जिल्ला कारगारका कैदीबन्दीलाई सुरक्षित राख्न बाहिरी संघ–संस्थाहरुबाट सहयोग हुन नसकेको बेला कैदीबन्दीलाई मध्यनजर राख्दै नगरप्रमुख गुप्ताले ती स्वास्थ्य सामाग्री कारगारका निमित्त प्रमुख ईश्वरी आचार्यलाइ हस्तान्तरण गरेका हुन् । 

यस्तो महामारीका बेला त्रसित भइरहेको कैदीबन्दीहरुलाई निषेधाज्ञाका कारणले स्वास्थ सामग्री र पैसासहित भेट्न उनीहरुको आफन्त आउन सकेका छैनन् । यहाँका विभिन्न सरकारी, गैरसरकारी एवं सामाजिक संघ–संस्थाहरुले नै खासै ध्यान दिन सकेका छैनन् ।

सामग्री बुझ्दै निमित्त कारागार प्रमुख आचार्यले कारागारमा बाहिरबाट आउने कैदीबन्दीहरुको पीसीआर परीक्षण गरी मात्र कारागार चलान गरिएको बताए । ‘यहाँ खटिने सुरक्षाकर्मी र हामी कर्मचारीहरु पनि स्वास्थ्य मापदण्ड अपनाउने गरेका छौँ तर पनि भाइरल ज्वरो र फ्लूको संक्रमण हुने समय रहेकाले कैदीबन्दीहरु स्वास्थ्य सामग्रीको अभावकै कारण उचित सुरक्षाका मापदण्ड अपनाउन नसकेकाले त्रसित भइरहेको बेला यस्तो परिस्थितिमा हामीलाई सम्झदै नगरपालिकाले दिएको यो सहयोग निकै ठूलो र महत्वपूर्ण रहेको छ ।’

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख गुप्ताले केही दिनमै थप आवश्यक औषधि, भिटामिन, जिन्क, मास्क, सेनिटाइजर, ग्लोब्स सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यसबाट कैदीबन्दीहरुको मनोबल पनि उच्च रह्ने विश्वास व्यक्त गरे ।