
सोमवार , जेठ ३, २०७८
परासी, ३ जेठ ।
बैंकर्स क्लब अफ परासीले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष प्रकाश भण्डारी नेतृत्वको बैंकर्स टोलीले उक्त स्वास्थ्य सामग्रीहरु प्रशासन कार्यालय हस्तान्तरण गरेपछि प्रशासनले पुनः त्यो सामग्रीहरु पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा १० थान अक्सिजन, १० थान पीपीई सेट, १० थान मास्क, ५ थान ग्लोब्स्, २० थान फेस सिल्ड, २ ग्यालन सेनिटाई रहेको क्लबका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले परासीका बैंकर्सहरु निकै समाजप्रतिको उत्तरदायी भएर सामग्रीहरु सहयोग गरेको देखेर खुशी लागेको र आगामी दिनमा यस्तै खालको थप सहयोगको अपेक्षा गरेको बताए ।
क्लबमा परासीका सबै कमर्शियल बैंकका शाखा प्रबन्धकसहित बैंकका कर्मचारीहरु आवद्ध छन् । देशभरी नै अक्सिजन र स्वास्थ्य सामग्रीहरुको अभाव भइरहेको बेला परासीका बैंकका कर्मचारीहरु सहयोगको भावनाले आफै-आफैमा रकम उठाएर स्वास्थ्य सामाग्रीहरु खरीद गरी प्रशासन कार्यालयमार्फत पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण गरिएको बैंक अफ काठमाण्डौका कर्मचारी जितेन्द्र अग्रहरीले जानकारी दिए ।
सामग्री हस्तान्त्रण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरी, क्लबका अध्यक्ष एवं नेपाल एसबिआई बैंक परासीका शाखा प्रबन्धक प्रकाश भण्डारी, सनराइज बैंक लिमिटेड परासीका शाखा प्रबन्धक सुनिल ज्ञवाली, बैंक अफ काठमाण्डौ परासीका मदन गौतम, एनएमबी बैंक परासीका अर्जुन ज्ञवाली, बैंक अफ काठमाण्डौका कर्मचारी जितेन्द्र अग्रहरीको उपस्थिति रहेको थियो ।
पटकपटक पृथ्वीचन्द्र अस्पतालमा अक्सिजनसहित केही स्वास्थ्य सामग्रीहरुको अभाव भएको जानकारी पाएपछि परासीका बैंकका कर्मचारीहरुले आफैमा रकम उठाएर पहिलो चरणमा यो सहयोग गरेको र अगामी दिनमा थप सहयोग गर्ने क्लबका अध्यक्ष भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij