२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

भीम अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडी बढ्छु : अध्यक्ष भण्डारी

मंगलवार , जेठ ४, २०७८

भैरहवा, ४ जेठ ।
भीम अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष नारायण प्रसाद भण्डारीले मंगलबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै भण्डारीले अस्पतालको विकासका लागि सबैसंग हातेमालो गर्दैै आवश्यक सल्लाह–सल्लाह लिएर अगाडी बढ्ने बताएका छन् । उनले समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास नहुने भएकोले सल्लाह–सुझाव, सहकार्य र सहभागितामा नै आफू अगाडी बढ्ने बताए ।

कोभिड–१९ को विषम परिस्थितिमा अक्सिजनको अभाव भएकोले अस्पतालमा अक्सिजन प्लान्ट लगाउने अभियान चलाउन आवश्यक रहेको उनले बताए । ‘अस्पताल भित्रै कोभिडका बिरामीहरुको उपचार भइरहेको छ, बाहिर रहेका बिरामीलाई पनि भित्रै व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने । सकभर बिरामीलाई बाहिरबाट अक्सिजन ल्याउन रोक्ने प्रयास गरिएको उनले बताए । ‘भित्रका विरामीलाई अक्सिजनको व्यवस्थापन अस्पतालबाटै हुनुपर्छ, ’उनले भने ।

कोभिड महामारीमा अक्सिजन ल्याउन ठूलो धनराशी खर्च भइरहेको उनले बताए । मासिक झण्डै ४० लाख खर्च अक्सिजनको व्यवस्थापनमा खर्च भइरहेको उनले जानकारी दिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण सिर्जना हुनुपर्ने उनको भनाइ छ । 

‘अस्पतालको मास्टरप्लान बनेको छ, नयाँ भवन बनाउनुपर्नेछ, अस्पतालमा उपचार पाइन्छ सेवासुविधा छ भन्ने भाव पैदा गराउन चाहन्छौं, ’उनले भने । अस्पतालको लागि बजेट अभाव हुन नदिने गरी स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयसंग भइरहेको भण्डारीले बताए । जनसमुदायको अपेक्षा सकेसम्म पदपूर्ति गरेर अगाडी बढ्ने उनको भनाइ छ । काम गर्नु अघि धेरै बोल्नु भन्दा पहिला काम गरेर देखाउनुपर्ने उनले बताए ।

जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालले धेरै बिरामीहरु धान्दै आएको भण्डारीले बताए । ‘सिद्धार्थनगरबासीको मात्र उपचार गरेर हुँदैन, जिल्लाबाहिरबाट आउने बिरामीको पनि उपचार गर्नुपर्छ, ’उनले भने । अस्पताललाई केही दिनदेखि निरन्तर सहयोग भइरहेको र आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने उनले विश्वास गरे ।

अस्पताल विकास समितिका नवनियुक्त सदस्य संगिता रेग्मीले कोभिड–१९ को कठिन परिस्थितिमा जिम्मेवारी पाएको बताइन् । उनले सल्लाह–सुझाव लिएर अघि बढ्ने बताइन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले चुनौतीपूर्ण बेलामा जिम्मेवारी पाएको अस्पताल विकास समितिलाई सबैको सहयोग जरुरी रहेको बताए । उनले स्थानीय प्रशासनबाट अस्पताललाई सहयोग हुने बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले गुणस्तरीय सेवालाई ध्यान दिनुपर्ने र त्यसका लागि पूर्वाधार र दक्ष जनशक्तिको आवश्यकता रहेको बताए । उनले अस्पतालमा कर्मचारी आएर प्रोत्साहित हुने वातावरणको सिर्जना गर्नुपर्ने बताए । ‘पूर्वाधारमा लगानी गर्नुपर्छ, बस्ने वातावरण बन्नुपर्छ, ’उनले भने ।

भीम अस्पताल विकास समितिका पूर्व सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले १ सयदेखि १५० शैयासम्मको सेवा दिने गरी अस्पतालको स्तरोन्नति हुनुपर्ने बताए । उनले अस्पतालले विरामीलाई गुणस्तरीय र आधुनिक सेवा दिनुपर्ने बताए । ‘अस्पताल विकास समितिले जल्दोबल्दो युवा नेतृत्व पाएको छ, सहकार्य गर्दै अगाडी बढ्छौं, ’उनले भने ।

भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष आनन्द प्रसाद गुप्ताले अस्पताल विकास समितिले चाहे अनुसार नेतृत्व पाएकोले अस्पतालले धेरै फड्को मार्ने विश्वास व्यक्त गरे । उनले आफूले करिब अढाई वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेको बताए । अस्पतालले दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पाउन नसकेको उनको भनाइ छ । विगतमा मन्त्री भएका नेताहरुले पनि अस्पतालको विकासमा ध्यान पुर्याउन नसकेको उनले बताए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष हितराज पन्थीले यतिबेला कुरा भन्दा पनि काममा विश्वस्त हुनुपर्ने अवस्था रहेको बताए । उनले अस्पताल विकास समितिलाई पूर्णता दिन पटकपटक प्रदेश सरकारसंग पहल गरिएको बताए । सिद्धार्थनगरको मुटुमा रहेको भीम अस्पतालको महत्व दिनप्रतिदिन बढ्दै गएको उनले बताए । ‘भीम अस्पताल लुम्बिनी प्रदेश सरकारको उच्च प्राथमिकतामा छ, अस्पताल विकास समितिले कुशलतापूर्वक काम गर्नेमा विश्वस्त छु, ’उनले भने ।IMG_7682.JPG

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पतालको टिमले निरन्तर बिरामीलाई सन्तुष्ट बनाउने कार्यमा लागेको बताइन् । उनले आवश्यक जनशक्ति प्रयाप्त नहुँदा सोचे अनुरुप काम गर्न त्यति सहज नरहेको बताइन् । ‘विभिन्न कारणले विरामीलाई ‘केयर’ गरिए पनि ‘क्वालिटी अफ केयर’ दिन सकेका छैनौं, आरोप लगाउनु सजिलो छ, तर काम गर्न ग्राहो छ, ’उनले भनिन् । अस्पताल विकास समितिले नेतृत्व पाएसंगै पहिलाको तुलनामा अब काम गर्न सहज हुने उनको भनाइ छ ।
अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीले अस्पतालमा विरामीको चाप रहेको बताए । उनले कोरोना संक्रमितको उपचारमा लागेका स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएको बताए । ‘स्वास्थ्यकर्मी पीपीई सेट लगाएर लगातार १२ घण्टासम्म खटिनुभएको छ, ‘उनले भने । अस्पतालले अभिभावक पाएको उनले बताए ।

अस्पतालका प्रशासकीय अधिकृत गोविन्द ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) का नेता चोपलाल आचार्य, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव अनिल कुमार ज्ञवाली, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासे, नेपाल एशोसिएशन टुर एण्ड टाभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर), समाजसेवी डा. राम प्रसाद बस्याल, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मी, भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेल, कोरोना फोकल पर्सन डा. आरिफ हुसेन, आकस्मिक कक्ष इञ्चार्ज सविता शर्मा, अस्पतालका लेखा अधिकृत गणेश मरासिनी लगायतको उपस्थिति रहेको थियो ।IMG_7700.JPG

लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषद्को वैशाख २२ गतेको निर्णय अनुसार नारायण प्रसाद भण्डारी तीन वर्षे कार्यकालको लागि भीम अस्पताल विकास समितिको अध्यक्षमा मनोनित भएका छन् । भण्डारी उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष समेत हुन् । त्यस्तै मंगलबार भीम अस्पताल विकास समितिको नवनियुक्त सदस्य संगिता रेग्मीले पनि पदभार ग्रहण गरेकी छन् ।