मंगलवार , भाद्र २, २०८३
बुटवल, २ भदौ । रुपन्देहीको बुटवलमा जारी प्रथम ज्ञानपुञ्ज जिल्लास्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँचवटा खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुञ्ज इङ्लिस सेकेण्डरी स्कूल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल विजयी भएको छ।
सिद्धार्थले ड्रीम भिजन स्कुल अफ फार्साटिकरलाई ५–० को फराकिलो अन्तरले जीत निकालेको हो । त्यस्तै दोस्रो खेलमा कोलिया इङ्लिस बोर्डिङ स्कूलले न्यू स्ट्याण्डर्ड इङ्लिस हाई स्कूलमाथि ३–० ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको छ । त्यसै गरी तेस्रो खेलमा नवीन औद्योगिक कदर बहादुर माध्यमिक विद्यालय टीम ‘बी’ ले ज्ञानपुञ्ज ई.बी.एस.लाई निकै फराकिलो ९–० को अन्तरले पराजित गरेको छ । दोस्रो दिनको सर्वाधिक गोल गर्दै आयोजक ज्ञानपुञ्जलाई पराजित गर्दै नविन अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्यस्तै होराइजन जीबीएस स्कूल र शान्ति नमुना माध्यमिक विद्यालयबीच भएको चौथो खेल प्रतिष्पर्धात्मक बन्यो । निर्धारित समयमा गोल नभएपछि टाई–ब्रेकरमार्फत २–१ को परिणाममा होराइजन जीबीएस स्कूल विजयी भएको छ । दोस्रो दिनको अन्तिम तथा पाँचौ खेलमा श्री नयागाउँ माध्यमिक विद्यालय वाकओभर पाएर अगाडि प्रवेश गरेको छ । केरवानी माध्यमिक तोकिएको समयमा खेलस्थलमा उपस्थित नभएपछि नयाँ गाउँमावि वाकओभरमार्फत विजय बनेको हो ।
दोस्रो दिन प्रमिस थापा, अकिंत सुनार, सम्राट हमाल र सृजन गिरीलाई प्लेयर अफ द म्याच घोषित हुँदै पुरस्कृत भए । यसअघि सोमबार पहिलो दिनको खेलमा अक्सफोर्ड, ग्यालेक्सी बोर्डिङ स्कूल, सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय र एभरग्रीन इङ्लिस बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छन् । प्रतियोगितामा रुपन्देहीका ४२ विद्यालयका खेलाडीहरुले भाग लिएका छन । प्रतियोगिताको सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिता बुटवल देवीनगरस्थित एन्फा रंगशालामा प्रत्येक दिन बिहान ८ र दिउँसो ३ बजेदेखि खेल भइरहेको छ । प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३१ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विद्यालय तहबाटै खेलाडी उत्पादनमा योगदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर र म्यान अफ दी म्याचलाई नगदसहित पुरस्कृत गरिएको जनाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij