२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

अक्सिजन खरीदका लागि रकम हस्तान्तरण

मंगलवार , जेठ ४, २०७८

बुटवल, ४ जेठ । 
विश्वभर छरिएर रहेका स्याङ्जाबासीहरुको छाता संगठन स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले कोभिडको समयमा देशैभर अभाव भइरहेको अक्सिजनलाई राहत स्वरूप हस्तान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जासंग समन्वय गरी १ सय सिलिण्डर अक्सिजन हस्तान्तरण गरिएको संस्थाका सदस्य धर्म पराजुलीले बताए । स्याङ्जाको केन्द्रको रुपमा रहेको वालिङमा मेयर दिलिप प्रताप खांणलाई उक्त अक्सिजन खरिदको निम्ति रकम हस्तान्तरण गरिएको छ ।

संस्थाले हाल ‘विपदमा संगसंगै’ भन्ने नाराका साथ २० लाखको कोरोना आपतकालिन राहत कोषको सन्चालन गरेको छ । हस्तान्तरण कार्यक्रममा सचिव तथा प्रवक्ता मुक्ति सुवेदी, सह–कोषाध्यक्ष डोलराज डुम्रे, कार्यसमिति सदस्य धर्मराज पराजुलीको उपस्थिति रहेको थियो ।

स्याङ्जाका ११ वटै स्थानिय तहमा आवश्यकता अनुसार वालिङबाट आफ्नो स्थानमा लिएर जान सकिने बताइएको छ, यसको  लागि मेयर दिलिप प्रताप खांणलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका विदेशस्थित २० वटा देशमा सक्रिय कमिटी रहेका छन् । संस्थाका सम्पूर्ण पदाधिकारी तथा विदेशमा रहेका एनसीसीहरुको आपसी समझदारी र सहकार्यबाट मात्र यो काम गर्न सम्भव भएको संस्थाका अध्यक्ष जीवन न्यौपानेले बताए ।

जिल्लामा केही घटना भएको थाहा पाउनेबित्तिकै स्याङ्जा सहयोग समाजका मित्रहरुले के गर्न सकिन्छ भनेर सल्लाह लिने देखि सहकार्य गर्न खोज्नुले नै आफुहरु खुशी भएको वालिङका नगरप्रमुख खांणको भनाइ छ ।

भर्चुअल माध्यमबाट जिल्लाभरीका बुद्धिजीवी, स्थानिय तहका मेयरहरु, गाउँपालिका प्रमुखहरु संरक्षक, सल्लाहकार तथा कार्यसमिति सदस्यहरुको सल्लाह बमोजिम अक्सिजनको निम्ति सहयोग गरिएको छ । आगामी दिनमा घुम्ती एम्बुलेन्स संचालन तथा अत्यावश्यक सेवाको लागि तयारी गरिएको अध्यक्षले बताए ।

काठमाडौमा रहेका अजिटम बालबालिका, अबिरल वर्षाका कारण भत्किएको घरमा सहयोग गर्ने देखि जिल्लाका विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको संस्थाले पछिल्लो समय जिल्लाका विभिन्न भागमा सहयोग प्रदान गरेको छ । संस्थाले पछिल्लो समय जिल्लामा पहिलादेखि कोरोनाका कारण मृत्यु हुनेको परिवारसम्मलाई सहयोग गरेको छ ।