२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

विद्यार्थीको बौद्धिकता, तार्किक र सिर्जनात्मक क्षमता जाँच्दै सामूहिक विद्यालय

सोमवार , भाद्र ८, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • भैरहवा । पाठ्यपुस्तकको पढाइसँगै विद्यार्थीको गर्ने तर्क, आफ्ना विचार प्रस्तुत गर्ने शैली र सिर्जनात्मक क्षमता विकास गर्ने उद्देश्यले सामूहिक विद्यालय परिवार, रूपन्देहीले अन्तरविद्यालयस्तरीय वादविवाद तथा चित्रकला प्रतियोगिता गरेको छ । 

    परिवारमा आबद्ध १७ विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा फरक–फरक उमेर समूहलाई लक्षित गरी वादविवाद र चित्रकला विधामा प्रतिष्पर्धा गराइएको थियो ।

    कक्षा ८ देखि १० का छात्राहरुबीच ‘वर्तमान परिवेशमा एकल परिवारभन्दा संयुक्त परिवार उत्तम’ र छात्रका विचमा कृतिम बुद्धिमता बरदान कि अभिशाप भन्ने विषयमा वादविवाद प्रतियोगिता आयोजना गरिएको थियो । विद्यार्थीले विषयको पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गर्दै अध्ययन, विश्लेषण तथा प्रभावकारी अभिव्यक्ति क्षमताको प्रदर्शन गरेका थिए ।

    प्रतियोगिताको वादविवादतर्फ छात्रातर्फ फ्युचरलाइट स्कुलकी सन्ध्या सुनार प्रथम, नमुना स्कुलकी सन्ध्या पौडेल द्वितीय, युनिभर्सल पब्लिक स्कुलकी युना पाण्डे तृतीय र मिनर्वा स्कुलकी मनिषा गुप्ता सान्त्वना भएका थिए । 

    छात्रतर्फ नेपाल नालन्दाका प्रतिक बेलबासे प्रथम, लुम्बिनी सृजना स्कुलका स्योहेस पाण्डे द्वितीय, फ्युचरलाइट स्कुलका जोसेफ तामाङ तृतीय र इभरग्रिन प्यासिफिकका अभिषेक कुर्मी सान्त्वना भएको कार्यक्रम संयोजक तथा फ्युचर लाईट बोडिङ स्कुलका प्राचार्य गम्भीर गुरुङले जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई केवल परीक्षामुखी अध्ययनमा सीमित नराखी उनीहरूमा तार्किक सोच, विषयवस्तुको विश्लेषण र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमता विकास गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

    त्यस्तै कक्षा २ र ३ का विद्यार्थीका लागि ‘सुन्दर दृश्य’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । साना विद्यार्थीले रंग र रेखामार्फत आफूले देखेको तथा कल्पना गरेको दृश्यलाई कागजमा उतारेका थिए ।

    आयोजकका अनुसार यसले बालबालिकाको सिर्जनशीलता र आत्मविश्वास विकासमा सहयोग पु¥याएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, रूपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीले विद्यालयबीच हुने यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामूहिक विद्यालय परिवारले शैक्षिक क्षेत्रको विकास र संस्थागत विद्यालयबीच सहकार्य विस्तारमा गर्दै आएको काम प्रशंसनीय रहेको बताउनुभयो । 

    सामूहिक विद्यालय परिवारका अध्यक्ष विष्णु प्रसाद पन्थीले विद्यार्थीको अतिरिक्त क्षमता, आलोचनात्मक चिन्तन र नेतृत्व क्षमता विकासका लागि नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको उल्लेख गर्नुभयो । उहाँका अनुसार संस्था शैक्षिक गतिविधिमा मात्र सीमित नभइ सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको छ ।

    चित्रकला प्रतियोगितामा छात्रातर्फ एभरेष्ट मोर्डनकी सिवानी हरिजन प्रथम, स्पाङ्गल स्कुलकी अनुपा यादव द्वितीय, लुम्बिनी सृजनाकी साधना हरिजन तृतीय र आदर्श विद्या मन्दिरकी श्रेया सिंजाली सान्त्वना भएका छन् ।

    छात्रतर्फ लुम्बिनी सृजनाका ऋषिकुमार यादव प्रथम, एभरेष्ट मोर्डनका मोहम्मद उमर द्वितीय, युनिभर्सलका मनिष बस्नेत तृतीय र सञ्जीवनी शिक्षा सदनका विराट नेपाल सान्त्वना भएका छन् । 

    सामूहिक विद्यालयका सचिव कमल कोइरालाले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष समसाद इद्रिसीले स्वागत गर्नुभएको थियो ।