२०८३, भाद्र १० गते

Aug 26 2026 | २०८३, भाद्र १० गते

प्रथम ज्ञानपुञ्ज सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि नविन माविलाई

बुधवार , भाद्र १०, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • बुटवल, १० भदौ । रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तर–विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता–२०८३ को च्याम्पियन नबिन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय बनेको छ ।

    मंगलबार भएको फाईनल प्रतिस्पर्धामा सैनामैना पर्रोहा परमेश्वर माबिलाई १–० गोल अन्तरले पराजित गर्दै नबिनले उपाधि चुमेको हो । नविनले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

    उपविजेता सैनामैनाले भने नगद ३१ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । नविनकातर्फबाट समूह ए र बी गरी दुई टीम प्रतिष्पर्धामा उत्रेको थियो । समूह बीले उपाधि चुमेको हो ।

    secon runnerup.jpeg

    ज्ञानपुन्ज इङ्लिस सेकेण्डरी स्कुल बुटवल उपमहानगरपालिका–१३ नहरपुरको आयोजनामा जिल्लास्तरीय प्रतियोगितामा भएको प्रतियोगितामा नबिन बीका बिप्लब गुरुङ उत्कृष्ट गोलकिपर, नबिन ए समूहका कुञ्ज गुरुङ बेष्ट डिफेन्डर तथा सैनामैना पर्रोहाका सुभाष नेपाली प्लेयर अफ टुर्नामेन्टबाट पुरस्कृत भए ।

    सिद्धार्थ केबलकार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक गरिएको प्रतियोगिता देविनगरस्थित एन्फा टेक्निकल सेन्टर भएको हो । फाइनलमा नबिनको जीतमा एकलमात्र गोल निमेष शाहीले गरे । खेल सुरु भएको पहिलो मिनेटमा नै उनले आर्कषक गोल गरे । उनी खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    भदौ १ गतेदखि सुरु भएको प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले समापन गर्नुभएको हो । समापन समारोहमा बोल्दै उपप्रमुख अर्यालले बुटवललाई खेलकुदको हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुटवल उपमहानगरपालिकाले खेलकुदको विकासका लागि ४ करोड बढी बजेट छुट्याएर काम गरेको बताउनुभयो ।

    त्यस्तै विद्यालयका प्राचार्य शंकर भण्डारीले आफूहरुले विद्यालय तहबाटै कुनै एउटा खेललाई पहिचान बनाउन सक्दा त्यसले खेलाडी उत्पादनमा योगदान गर्ने उद्देश्यले सेभेन एसाईड प्रतियोगिता सुरु गरिएको बताउनुभयो ।  उहाँले विद्यार्थीहरुमा खेलप्रति रुची बढाउनका लागि तलाउमा डुंगा फाल्ने काम आफूहरुले गरेको बताउनुभयो ।

    एन्फा रुपन्देहीका महासचिव हिमाल गौचन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद भट्टराई, प्राचार्य शंकर भण्डारी, सिद्धार्थ केबलकारका प्रबन्धक नर बहादुर कार्कीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।  प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टीमले भाग लिएका थिए ।