शुक्रवार , भाद्र १२, २०८३
भैरहवा, १२ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा केन्द्रीय कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीप्रभावितका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले बिहीबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत ८ लाख रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष गिरी प्रसाद पुनका अनुसार वार्षिक साधारण सभाले विपद्को समयमा सहयोग गर्न शेयर सदस्यको खाताबाट रकम निकालेर सहयोग गर्न सक्ने म्याण्डेट (अख्तियारी) सञ्चालक समितिलाई दिएको थियो । सोहीअनुसार प्रत्येक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको हो ।
४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ, संस्थाका सञ्चालक समिति, लेखा समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्तावापत १ लाख रुपैयाँ, संस्थाकोतर्फबाट १ लाख ५५ हजार रुपैयाँ र कर्मचारीबाट एक दिनको तलवबापत १ लाख गरी ८ लाख कोषलाई प्रदान गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । बाढीप्रभावितलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उहाँले भनाइ छ ।
सहकारीको निवर्तमान अध्यक्षसमेत रहनुभएकी प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको बताउनुभयो । उहाँले जनउत्थान सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख जम्मा गरिसकेको र इच्छुक सबै नेपालीले आफ्नो गच्छेअनुसार सहयोगको हात अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘विपद्को घडीमा सरकारले सबैलाई सहयोगको लागि आह्वान गरेको छ, सबै मिलेर विपद्को सामना गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जनउत्थान सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८ लाख रुपैयाँ हस्तान्तरण गरेको भन्दै संस्थाको सम्पूर्ण परिवारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले मानवीय सहायताका उद्धार र राहतका कामहरुका लागि सबै संघ–संस्था, निजी क्षेत्र, सरकारी निकाय र अन्य सहयोगी संस्थालाई सहयोगका लागि अनुरोध गरिएको बताउनुभयो ।
रकम हस्तान्तरण लागि सहकारीका अध्यक्ष गिरी प्रसाद पुन, निवर्तमान अध्यक्ष ज्ञानु पौड्याल, उपाध्यक्ष सरु राना, सचिव अञ्जु जैसी, प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापा लगायत जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij