बुधवार , भाद्र १७, २०८३
भैरहवा, १७ भदौ । रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट लिमिटेडमा कार्यरत कर्मचारी र मजदूरले ६ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । उद्योगमा कार्यरत कर्मचारी र मजदूरले आफ्नो पारिश्रमिक कटाएर उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । विपद्का बेला पीडितलाई थोरै भए पनि साथ दिनुपर्छ भन्ने भावनाका साथ सहयोग गरिएको उनीहरूले बताएका छन् ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गरेको उनीहरुको भनाइ छ ।
उद्योगका महाप्रबन्धक उद्धव बहादुर कार्कीले विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारी र मजदूरले स्वेच्छिक रूपमा रकम संकलन गरेको बताउनुभयो ।
उद्योगका नायब महाप्रबन्धक कृष्ण प्रसाद पाण्डेका अनुसार उद्योगकातर्फबाट यसअघि नै १ करोड ११ लाख रुपैयाँ सहयोग गरिसकिएको छ । त्यसबाहेक उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले व्यक्तिगत रुपमा रकम संकलन गरी बाढी प्रभावितका लागि सहयोग गरेको पाण्डेले बताउनुभयो ।
रुपन्देहीको सियारी गाउँपालिकामा रहेको अर्घाखाँची सिमेन्टमा नेपाली र भारतीय गरी मजदूर तथा कर्मचारीसहित २ सय ९५ जना कार्यरत छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij