बुधवार , भाद्र १७, २०८३
भैरहवा, १७ भदौ । पञ्चकन्या समूह (ग्रुप) ले बुधबार रक्तदान कार्यक्रम गरेको छ । ५४ औं वर्ष पूरा गरी ५५ औं वर्ष प्रवेशको अवसरमा समूहले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित उद्योग परिसरमा कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२२ यूनिट रगत संकलन भएको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताउनुभयो । हरेक वर्ष वार्षिकोत्सवको अवसरमा यो कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । पञ्चकन्या समूहले उद्योग सञ्चालनसँगै समाजप्रतिको दायित्व पूरा गर्दै आएको उहाँको भनाइ छ । उहाँले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
समूहका उपाध्यक्ष ध्रुव कुमार श्रेष्ठले रक्तदान ‘जीवनदान’ भएको र यसले मानिसको ज्यान समेत जोगाउने बताउनुभयो। उहाँले रक्तदान गर्नु स्वास्थ्यको लागि पनि राम्रो भएकाले रक्तदान गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । गत भदौ १० गते रसुवालगायतका जिल्लामा बाढीबाट घाइते भए उपचार गराइरहेको अवस्थामा रगतको अभाव हुन सक्ने भएकाले केही भए पनि बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले देशमा समस्या तथा आपत परेको बेला सानो सहयोगले ठूलो काम गर्ने बताउनुभयो । उहाँले रक्तदान गर्नु पुण्यको काम भएको बताउनुभयो । उहाँले पञ्चकन्या समूहले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा सहभागी हुने सबैप्रति उपप्रमुख अधिकारीले आभार समेत व्यक्त गर्नुभयो ।
रक्तदान कार्यक्रममा उद्योगमा कार्यरत कर्मचारी, मजदूर, स्थानीय संघ–संस्था, स्थानीयबासी तथा छिमेकी पालिकाहरुबाट आएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij