२०८३, भाद्र १७ गते

Sep 02 2026 | २०८३, भाद्र १७ गते

महिलाले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : उपप्रमुख अर्याल

बुधवार , भाद्र १७, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • बुटवल, १७ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले महिलाहरूले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिँदै आफ्ना स्वास्थ्यसम्बन्धी समस्या खुलेर राख्नुपर्ने बताउनुभएको छ ।

    सिर्जनशील संस्था नेपालको आयोजना तथा टेवाको आर्थिक सहयोगमा बुटवल उपमहानगरपालिका–१३ मा सुरु भएको रजोनिवृत्तिसम्बन्धी दुईदिने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले महिलाहरूले आफ्ना समस्या बाहिर ल्याउन नसक्दा स्वास्थ्यसम्बन्धी जटिलता बढ्ने गरेको बताउनुभयो ।

    उहाँले महिलाहरू अझै पनि स्वास्थ्यसम्बन्धी समस्या लुकाएर बस्ने प्रवृत्ति रहेको भन्दै अब हरेक महिला आफ्नो स्वास्थ्यप्रति सचेत र जागरूक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । महिलाहरू आत्मनिर्भर बन्नुका साथै आफ्नो स्वास्थ्यको जिम्मेवारी आफैंले लिनुपर्ने उहाँको भनाइ थियो । ‘महिलाहरूले आफ्ना समस्या खुलेर भन्न नसक्दा विभिन्न स्वास्थ्य समस्या जटिल बन्दै जाने गरेको छ । त्यसैले हरेक महिला आफ्नो स्वास्थ्यप्रति सचेत हुन आवश्यक छ,’उपप्रमुख अर्यालले भन्नुभयो ।

    तालिममा रजोनिवृत्ति भनेको के हो, रजोनिवृत्ति हुने सामान्य उमेर, यस समयमा देखिने विभिन्न लक्षण तथा स्वास्थ्यमा आउने परिवर्तनहरूका विषयमा सहभागीहरूलाई जानकारी दिइएको छ । रजोनिवृत्तिको समयमा महिलाले अपनाउनुपर्ने स्वास्थ्य सावधानी र आफ्नो स्वास्थ्यको हेरचाहका विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ ।

    सिर्जनशील संस्था नेपालका अध्यक्ष बिजु पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यता,  तथा बुटवल–१३ वडाध्यक्ष नारायणप्रसाद पुनको विशेष आतिथ्यता, वडा सदस्य कृष्ण सुनार, मन्दिरा गौडेल लगायतको आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    महिलाहरूमा रजोनिवृत्तिसम्बन्धी स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम भदौ १८ गते समापन हुनेछ । तालिमको सहजीकरण बिनोद बिसी र चित्र रोकाले गर्नुभयोको सिर्जनशील संस्था नेपालले जनाएको छ ।