२०८३, भाद्र २० गते

Sep 05 2026 | २०८३, भाद्र २० गते

पशुपति कलेजको सातौं कलेज सभा, महायज्ञका लागि ५५१ सदस्यीय समिति गठन

शनिवार , भाद्र २०, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, २० भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ स्थित पशुपति कलेजको सातौं कलेज सभा तथा भेला शनिबार क्याम्पस प्रांगणमा सम्पन्न भएको छ । समुदायस्तरका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले २०६२ सालमा स्थापना भएको कलेजले सातौं कलेज सभा सम्पन्न गरेको हो ।

    सभासँगै कलेजमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालनका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष लीलाबल्लभ गैरेको अध्यक्षतामा समिति गठन गरिएको हो ।

    कलेज प्रांगणमा आगामी मंसिर १४ गतेदेखि २१ गतेसम्म धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन हुने जनाइएको छ । महायज्ञमा प्रमुख कथा वाचकका रूपमा भावतलङ्कार पण्डित नेत्रप्रसाद पराजुली रहनेछन् । महायज्ञ अवधिभर दैनिक पूजा, तुलादान, भूमिदान, अन्यदान, गौदान, पितृदान, ब्राह्मण भोजन, प्रसाद वितरण, भोजन आरती, विशेष पूजा, ब्राह्मण वरण तथा व्रतबन्धलगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

    कार्यक्रममा अध्यक्ष गैरेले कलेजमा आगामी दिनमा विशेष प्रकृतिका विषय तथा संकाय थप गर्न आर्थिक स्रोत जुटाउनुपर्ने बताउनुभयो ।

    क्याम्पस प्रमुख जितबहादुर राजकोटीले समाजको मागअनुसार प्रभावकारी तथा नयाँ विषयहरू थप गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    तिलोत्तमा नगरपालिकाको उपप्रमुख जगेश्वर देवी चौधरीले क्याम्पस संघीय सरकारको मातहतमा रहे पनि नगरपालिकाले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउनुभयो ।

    कार्यक्रममा प्रमुख कथावाचक नेत्रप्रसाद पराजुली, कार्यपालिका सदस्य रवि सेन्चुरी, वडा नम्बर १६ का अध्यक्ष झविलाल भुसाल, जिल्ला समन्वय समिति रूपन्देहीका सदस्य ऋषिराम बस्याल, खेमराज रेग्मीलगायतले मन्तव्य राख्नुभएको थियो ।