
बिहिवार , जेठ ६, २०७८
भैरहवा, ६ जेठ ।
जेसीआई सिद्धार्थ, नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमलाई सहयोग गरेको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै आश्रमलाई बिहीबार खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए । ‘आश्रममा रहेका बालबालिकालाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले खाद्यान्न सामग्री वितरण गरेको हो, ’ज्ञवालीले भने ।
आश्रमलाई आलु, प्याज, तेल, दाल, चना, चिनी, भुजा, अण्डा, लसुन, मसला, खुर्सानी, प्रोटिनयुक्त खाद्यान्न, साबुन, थर्मल गन लगायत गरी ३२ हजार बराबरको सामग्री वितरण गरिएको कार्यक्रम संयोजक गोपाल भण्डारीले बताए ।
कार्यक्रममा जेसीआई सिद्धार्थका पूर्व अध्यक्षहरु निरज नारायण श्रेष्ठ, लेखनाथ भट्टराई, सुमन शर्मा, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष तथा सिद्धार्थ जेसीजका कानूनी सल्लाहकार राकेश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
दोस्रो लहरको कोरोना संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि संस्थाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री, विरामीलाई उपचारका लागि आर्थिक सहयोग तथा भीम अस्पतालाई अक्सिजन सिलिण्डर प्रदान गरेको जेसीआई सिद्धार्थ वर्ष २०२१ का महासचिव सागर पोखरेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij