सोमवार , भाद्र २२, २०८३
लुम्बिनी, २२ भदौ । रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि राहत रकम जम्मा गर्ने र छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।
कार्यकारी परिषद्को निर्णयअनुसार श्रेणीबिहीन कर्मचारीको मासिक सुरु तलब स्केल बराबरको दुई दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन, सहायक प्राध्यापक, सहायक निर्देशक, उपप्राध्यापक वा सोसरहका शिक्षक तथा कर्मचारीको सात दिन र सह–प्राध्यापक, प्राध्यापक, क्याम्पस प्रमुख, निर्देशक, परीक्षा नियन्त्रक, डिन तथा रजिस्ट्रारको १० दिन बराबरको पारिश्रमिक राहत कोषमा जम्मा हुनेछ । त्यस्तै उपकुलपतिको १५ दिन बराबरको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले विपद्को समयमा पीडितको दुःखमा विश्वविद्यालय परिवार पनि सहभागी हुनुपर्ने मान्यताअनुसार सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो । ‘रसुवाको बाढीले ठूलो जनधनको क्षति पुर्याएको घटनाले हामीलाई अत्यन्त दुःखी बनाएको छ । विपद्को समयमा पीडित परिवारसँग ऐक्यबद्धता प्रकट गर्दै राहत तथा पुनःस्थापनामा विश्वविद्यालय परिवारको तर्फबाट सक्दो योगदान गर्नु हाम्रो सामाजिक दायित्व हो,’उहाँले भन्नुभयो ।
विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले विपद् प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन विश्वविद्यालयले विशेष व्यवस्था गरेको बताउनुभयो । ‘बाढीका कारण घरबिहीन वा अभिभावकबिहीन भएका विद्यार्थीलाई आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुन नदिन विश्वविद्यालयले शतप्रतिशत शैक्षिक शुल्क छुट दिने निर्णय गरेको छ,’उहाले भन्नुभयो–‘यो सुविधा हाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका साथै आगामी शैक्षिक सत्रमा नयाँ भर्ना हुन आउने प्रभावित विद्यार्थीलाई पनि उपलब्ध हुनेछ ।’
निर्णयअनुसार विश्वविद्यालयमा अध्ययनरत कुनै विद्यार्थी बाढीबाट प्रभावित भइ घरबिहीन वा अभिभावकबिहीन भएको प्रमाणित भएमा निजको शैक्षिक शुल्कमा शतप्रतिशत छुट दिइनेछ । त्यसै गरी शैक्षिक सत्र २०८३ देखि २०८५ सम्ममा स्नातक तथा स्नातकोत्तर तहमा नयाँ भर्ना हुन आउने बाढीप्रभावित, घरबिहीन वा अभिभावकबिहीन विद्यार्थीलाई सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा शैक्षिक शुल्कमा शतप्रतिशत छुट प्रदान गरिनेछ ।
विश्वविद्यालयले राहतमा आर्थिक योगदानसँगै विपद्का कारण शिक्षामा परेको असर न्यूनीकरणलाई पनि आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा अघि सारेको जनाएको छ । विश्वविद्यालयले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सरकारले घोषणा गरेको राष्ट्रिय शोकका दिन विश्वविद्यालयको स्तुपा परिसरमा भिक्षुभिक्षुणी, लामा आनीहरुबाट मृत्युवरण गर्ने सम्पूर्णको सुखावती भुवनमा वास होस् भन्ने हेतुले परित्राण एवं दूर्गति परिशोधन सुत्र पाठ तथा द्वीप प्रज्ज्वलन गरिएको विश्वविद्यालयका सूचना अधिकारी एवं सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिनुभयो ।
विश्वविद्यालयले विभिन्न ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । राहतमूलक छात्रवृत्ति सुविधा आंगिक क्याम्पस तथा स्कुलहरुमा लागू हुने विश्वविद्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij