२०८३, भाद्र २५ गते

Sep 10 2026 | २०८३, भाद्र २५ गते

‘फैसला कार्यान्वयन नहुँदा नागरिकमा न्यायालयप्रतिको विश्वास घट्यो’

बिहिवार , भाद्र २५, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौँ, २५ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी व्यवस्था गरिने बताउनुभएको छ । 

    बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फैसला कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि छुट्टै कानून र संस्थागत संरचना आवश्यक भएको महसुस सरकारले गरिरहेको बताउनुभयो । उहाँले अदालतमा रहेको मुद्दाको ब्याकलग घटाउनुका साथै फैसला कार्यान्वयनमा देखिएको ‘इम्प्लिमेन्टेसन ग्याप’ अन्त्य गर्ने कुरामा गम्भीर बन्नुपर्ने बेला भएको पनि बताउनुभयो ।

    उहाँले अदालतबाट फैसला भएपनि त्यसको कार्यान्वयन न्यून दरमा हुनु स्वाभाविक नभएको भन्दै उनले फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने कुरामा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले फैसलाको प्रभावकारी कार्यान्वयन नभएकै कारण नागरिकको न्यायालयप्रतिको विश्वास घट्दै गएको पनि बताउनुभयो । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग र विभिन्न निकायका प्रणालीबीच अन्तरआबद्धता कायम गर्नुपर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘अहिलेको सबैभन्दा ठूलो समस्या भनेको एक त अब त्यो ब्याकलग कसरी कम गर्ने भन्ने पाटोमा हामीले काम गर्नुपर्ने छ । अनि अदालतबाट भएका फैसला कार्यान्वयनको तहमा कहाँकहाँ समस्या भइराखेको छ भन्ने कुरा चाहिँ अब मध्यनजर गर्नुपर्ने स्थिति आइपुगेको छ । फैसला कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर काम गर्नु नै पर्ने छ । अहिलेको मुख्य समस्या भनेको इम्प्लिमेन्टेसन ग्याप हो । अदालतले गरेको फैसलाहरु  कार्यान्वयन निकै न्यून दरमा हुन यो स्वभाविक विषय होइन ।

    यसमा गम्भीर भएर सोच्नुपर्ने छ । फैसला कार्यान्वयनको  इन्स्टिच्युसनल आर्किटेक्चर नै अब नयाँ तरिकाले बनाउनु पर्ने देखिन्छ । अब राइट टु जस्टिस चाहिँ त्यतिबेला मात्रै हुन्छ जतिबेला यो इफेक्टिभ इन्फोर्समेन्ट अफ जजमेन्ट हुन्छ ।

    राइट टु जस्टिस त जजमेन्ट इन्फोर्समेन्ट नै भएन भने देखि कसरी हामीले इन्स्योर गर्न सक्छौँ ? संविधानमा लेखिएको हामीले न्यायको हक कसरी सुनिश्चित गर्न सक्छौँ ? त्यही भएर कार्यान्वयनमा सबैभन्दा बढी हामीले ध्यान दिनुपर्ने अवपस्था रहेको छ । फैसला कार्यान्वयन सम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने आवश्यकता सरकारलाई पनि महसुस भएको छ । 

    यसमा काम गर्नु नै पर्ने छ । अझ विशेषगरी किन त भन्दा संघीयता आइसकेको परिवेशमा न्यायिक समिति पनि छ स्थानीय सरकारको । अनि न्यायिक समितिहरूले  न्याय निरूपण गर्ने कामहरू गरिरहेका छन् । आज नागरिकको अदालतहरुमाथिको विश्वास किन घटिरहेको छ भन्दा फैसला कार्यान्वयनकै तहमा पुग्दैन नि ।’

    उहाँले फैसलाको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने व्यवस्था गरिने पनि बताउनुभयो ।