२०८३, आश्विन २ गते

Sep 18 2026 | २०८३, आश्विन २ गते

सरकारी अस्पतालमा विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा सेवा प्रभावित

शुक्रवार , आश्विन २, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • पश्चिम नवलपरासी, २ असोज ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लामो समयदेखि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा बिरामीहरू मारमा परेका छन् ।

    अस्पतालमा कार्यरत विशेषज्ञ रेडियोलोजिस्ट डा. प्रकाश ढकाल गत वैशाखमा काज फिर्ता भइ गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरी गएपछि हालसम्म कुनै पनि विशेषज्ञ रेडियोलोजिस्ट आएका छैनन् । दरबन्दी भए पनि विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा अस्पतालबाट प्रदान गरिने महत्वपूर्ण विशेषज्ञ रेडियोलोजिस्ट सम्बन्धि स्वास्थ्य सेवाहरू प्रभावित बनेका हुन् ।

    अस्पताल प्रमुख डा. बृज यादवका अनुसार हाल सामान्य खालका सेवाका लागि मेडिकल अधिकृतबाट काम चलाउँदै आइए पनि विशेषज्ञ रेडियोलोजिस्टको अभावमा मुख्य–मुख्य जटिल सेवाहरू अवरुद्ध भएका छन् । ‘विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा घाटीको भिडियो एक्स–रे, पेटबाट पानी निकाल्ने लगायतका विविध जटिल तथा मुख्य सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्,’डा. यादवले भन्नुभयो ।

    वि.सं. १९६८ (सन् १९११) मा स्थापना भएको पृथ्वीचन्द्र अस्पताल साबिक नवलपरासी क्षेत्रकै सबैभन्दा पुरानो तथा ऐतिहासिक सरकारी अस्पताल हो । एक शताब्दीभन्दा बढीको इतिहास बोकेको यो अस्पताल सुरुमा सानो प्राथमिक उपचार केन्द्रका रूपमा सञ्चालनमा आएको थियो । पछि वि.सं. २०७३ सालमा १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भइ यो लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय मातहत ‘सेकेण्डरी ए लेभल’ को मुख्य रिफरल अस्पतालका रूपमा विकास भयो । हाल स्वीकृत क्षमता ५० शैया भए पनि बिरामीको बढ्दो चापलाई ध्यानमा राख्दै अस्पतालले ८२ शैया सञ्चालन गर्दै आएको छ भने निकट भविष्यमै १०० शैया पुर्याउने लक्ष्य राखेको छ ।

    बिरामीहरुले सरकारी अस्पतालमा सेवा नपाउँदा सास्ती व्यहोर्नुपरेको छ । ‘तर, यहाँ रेडियोलोजिस्ट नै हुनुहुन्न भन्दै फर्काइन्छ । सामान्य सेवाका लागि पनि बुटवल, भैरहवा धाउनुपर्ने बाध्यता छ । निजी स्वास्थ्य संस्थामा दोब्बर–तेब्बर महंगो शुल्क तिर्नुपर्छ, हामी गरीबले कहाँबाट पैसा ल्याउनु ?’ एकजना बिरामीको दुःखेसो  छ  ।

    त्यस्तै अर्का बिरामी पेटको समस्या लिएर उपचारका लागि आएका, ‘अस्पताल पुरानो र ठूलो छ भनेर आशा बोकेर आउँछौं । तर, पेटको जटिल भिडियो एक्सरे र अन्य परीक्षणका लागि बाहिरै जानुपर्छ भन्छन् । बिरामीहरुका अनुसार एम्बुलेन्स खर्च र प्राइभेटको महंगो जाँचले गर्दा ऋण खोजेर उपचार गराउनुपर्ने अवस्था आएको छ । सरकारले तुरुन्त डाक्टरको व्यवस्था गरिदिनुपर्यो ।’

    नागरिक समाजका अगुवाहरूले ऐतिहासिक अस्पतालको यस्तो विजोग हुनु दुःखद भएको बताएका छन् । सरकारी निकायको ध्यान नपुग्दा सर्वसाधारण नागरिक मौलिक स्वास्थ्य अधिकारबाटै वञ्चित हुनुपरेको उनीहरूको भनाइ छ ।
    त्यस्तै नागरिक समाज, पश्चिम नवलपरासीका संयोजक बेचु गौडले जिल्लाको मुख्य रिफरल अस्पतालमै विशेषज्ञ डाक्टर नहुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो । ‘एक शताब्दीभन्दा बढी इतिहास बोकेको पृथ्वीचन्द्र अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा सर्वसाधारणले पाएको सास्तीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    वैशाखदेखि डाक्टर नहुँदा पनि प्रदेश र संघीय सरकारले वैकल्पिक व्यवस्था नगर्नु लापरवाही हो,’संयोजक गौडले भन्नुभयो–‘हामीले प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तुरुन्त विशेषज्ञ रेडियोलोजिस्ट पठाउन माग गर्दछौं ।

    पश्चिम नवलपरासीमा पृथ्वीचन्द्र जिल्ला अस्पताल र चिसापानी अस्पताल गरी दुईवटा प्रमुख सरकारी अस्पतालहरू रहेका छन् । तर, जिल्लाका कुनै पनि सरकारी अस्पतालमा हाल विशेषज्ञ रेडियोलोजिस्ट नहुँदा समग्र जिल्लाकै स्वास्थ्य सेवा गम्भीर रूपमा प्रभावित भएको छ ।

    सरकारी अस्पतालमा विशेषज्ञ सेवा नपाएपछि सर्वसाधारण तथा गरीब बिरामीहरू भिडियो एक्स–रे र अन्य विशिष्ट निदानका लागि छिमेकी जिल्ला रुपन्देही र चितवनका निजी अस्पताल तथा डाइग्नोस्टिक सेन्टरहरूमा गएर महंगो शुल्क तिर्न बाध्य भएका छन् ।

    यस विषम परिस्थितिमा संघीय (केन्द्र) सरकार तथा प्रदेश सरकारले आवश्यक सहजीकरण गरी तत्काल कन्सल्टेन्ट रेडियोलोजिस्टको व्यवस्था गरिदिएमा यहाँका जिल्लाबासीले सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने थिए । स्थानीयहरूले पनि रोकिएका सेवाहरू शीघ्र पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।