बुधवार , आश्विन ७, २०८३
पश्चिम नवलपरासी, ७ असोज । पश्चिम नवलपरासी जिल्लाका ७ वटा पालिकाहरूमध्ये बर्दघाट नगरपालिकाले जिल्लामै पहिलोपटक सामूदायिक विद्यालयमा आवासीय (छात्रावास) सुविधासहितको पठनपाठन सुरु गरेको छ । नगरभित्रका अति विपन्न, अभिभावकविहीन (अनाथ) र भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो ।
नगरपालिकाको स्वीकृत ‘सामुदायिक विद्यालयमा आवासीय कार्यक्रम सञ्चालन मापदण्ड, २०८३’ बमोजिम चालू शैक्षिक सत्रदेखि कक्षा ६ देखि १२ सम्मका लक्षित विद्यार्थीहरूका लागि यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । हाल यो आवासीय कार्यक्रम बर्दघाट वडा नम्बर १० स्थित राजापूर्णभद्र माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ, जहाँ हाल ३० जना विद्यार्थीहरू पूर्ण आवासीय सुविधासहित अध्ययनरत छन् ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो–‘हाम्रो नगरभित्र भौगोलिक विकटताका कारण र पारिवारिक आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । खास गरी बर्दघाट नगरपालिका वडा नम्बर २ लगायतका पहाडी तथा विकट क्षेत्र र अभिभावकबिहीन (अनाथ) बालबालिकाहरूलाई विद्यालयको पहुँचमा निरन्तर टिकाइराख्न यो आवासीय सुविधा कोशेढुंगा साबित हुनेछ ।’ विद्यार्थीहरूको खाना, बस्न र लत्ताकपडाको सम्पूर्ण जिम्मेवारी सामुदायिक विद्यालयले बहन गर्ने उहाँले बताउनुभयो । स्थानीय सरकार अभिभावकबिहीन विद्यार्थीहरूको अभिभावक बनेर उभिएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले भन्नुभयो-‘कार्यक्रमलाई पारदर्शी, व्यवस्थित र नतिजामुखी बनाउन हामीले स्पष्ट मापदण्ड तयार पारेका छौं । छात्रावासमा बसोबास गर्ने विद्यार्थीहरूको भौतिक सुरक्षा, स्वास्थ्य र पोषणयुक्त खानपानमा कुनै सम्झौता नहोस् भन्नका लागि वास्तविक खर्चको भौचरका आधारमा मात्र रकम निकासा हुने भएकाले स्रोतको सदुपयोग पूर्ण रूपमा सुनिश्चित गरिएको छ ।’
यस कार्यक्रमले नगरभित्र ड्रप–आउट (विद्यालय छाड्ने दर) शून्यमा झार्न र गुणस्तरीय शिक्षामा सबैको समान पहुँच पुर्याउन ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij