बुधवार , आश्विन ७, २०८३
भैरहवा, ७ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार वितरण गरेको छ ।
मंगलबार वडा कार्यालयमा आयोजित कार्यक्रममा ५५ जना गर्भवती तथा सुत्केरी महिलालाई पौष्टिक आहार (अण्डा र च्यवनप्राश) वितरण गरिएको हो ।
कार्यक्रममा वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्यलाई लक्षित गर्दै कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँले गर्भवती तथा सुत्केरी महिलालाई नगरपालिकाको नीति तथा निर्देशिकाअनुसार उपलब्ध स्वास्थ्य सेवा उपयोग गर्न आग्रह गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्तासमेत रहनुभएका अध्यक्ष यादवले आफ्नै वडा कार्यालय परिसरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै सामान्य स्वास्थ्य समस्याका लागि अन्यत्र जानुपर्ने अवस्था नरहेको बताउनुभयो । आगामी दिनमा स्वास्थ्य केन्द्रमा थप सेवा तथा सुविधा विस्तार गर्दै लैजाने उहाँको भनाइ थियो ।
उहाँले बालबालिकाको अधिकार सुनिश्चित गर्न बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता बनाउन पनि आग्रह गर्नुभयो । ‘समयमै जन्मदर्ता गराएर बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ,’उहाँले भन्नुभयो ।
कार्यक्रममा वडा सदस्य हरि बहादुर केसी, इन्द्रमति धोबी, वडा सचिव धनेशचन्द्र गुरुङ, आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख प्रकृति खत्री, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij