२०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस, खैरा र सभापोखरी सेमीफाइनलमा

बिहिवार , आश्विन १५, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • बुटवल, १५ असोज । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब रुपन्देहीको बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । 

    बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–२ को सेटमा हरायो । रोमाञ्चक खेलमा पुलिसले मणिमुकुन्द २५–२०, २३–२५, २५–२०, १८–२५, १५–१२ को जीत निकालेको हो । लगातार तेस्रो जीत निकालेको पुलिस समूह विजेता बन्यो । 

    यस समूहबाट खैरा भलिबल क्लब उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । बिहीबार नै भएको खेलमा खैराले श्रीलंका पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । खैराले श्रीलंका पुलिसमाथि २५–२०, २५–२०, १९–२५, २५–१७ को जीत निकालेको हो । हारसँगै मणिमुकुन्द र श्रीलंका पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । 

    त्यस्तै समूह ‘बी’ को खेलमा लगातार दोस्रो जित निकाल्दै सभापोखरी भलिबल क्लब सेमीफाइनलमा पुग्न सफल भयो । सभापोखरी क्लबले एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । भारतीय खेलाडीको साथ पाएको सभापोखरीले एपिएफमाथि २४–२६, २५–१९, २५–२०, २०–११ को जीत निकालेको थियो । 

    त्यस्तै दिनको अन्तिम खेल भने पूरा हुन सकेन । एपीएफ र गुजरात स्पोर्टिङ क्लबबीचको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले समान १–१ सेट जितेपछि सहमतिमै खेल स्थगित गरिएको हो ।

    दुवै टोलीले बाँकी खेल शुक्रबार (भोलि) पूरा गर्ने सहमति गरेसँगै सेमीफाइनल पुग्ने एक टोलीको टुंगो लाग्न बाँकी छ । सेमीफाइनलका खेल पनि भोलि नै हुनेछन् ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

    त्यस्तै तेस्रो हुनेलाई १ लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिनुभयो ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही ८ हजार रुपैयाँसहित सम्मान गरिनेछ ।